हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफू विरुद्ध (संसदीय दलको नेता) को अविश्वासको प्रस्ताव फेस गर्न तयार रहेको बताउनुभएको छ । उहाँले यसलाई आफूले ठूलो कुरा नठानेको र पार्टी भित्र भइरहने एउटा प्रक्रियाको रुपमा लिएको बताउनुभएको छ ।
‘म अविश्वासको प्रस्ताव फेस गर्न तयार छु । गठबन्धनको सरकार भएको अवस्थामा सहमति अनुसारको मुख्यमन्त्रीको समयावधि सकिएको भए मैले स्वभाविक रुपमा राजिनामा दिनुपथ्र्यो र दिन्थेँ’, मुख्यमन्त्री लामाले भन्नुभयो, ‘तर अहिले त्यस्तो अवस्था होइन । साथीहरुले दलको नेता फेर्नु पर्यो भनेर अविश्वासको प्रस्ताव दर्ता गरेको मैले पनि थाहा पाएँ । यसलाई मैले ठूलो कुरा मानेको छैन यो पाटी भित्रको कुरा हो । म प्रस्ताव फेस गर्न तयार छु ।’
मुख्यमन्त्री लामाले गठबन्धन सरकार भएकाले सहमति अनुसार अझै लगभग एक वर्ष काम गर्न पाउनुपर्ने बताउँदै यो पार्टी भित्रका केहि साथीहरुले चाहेर मात्रै पनि पूरा नहुने दावी गर्नुभएको छ । ‘यो कांग्रेस भित्रका केहि साथीहरुले मात्रै चाहेर हुने कुरा होइन । हामी अहिले गठबन्धन सरकारमा छौं । बागमती प्रदेशको प्रभाव अरु प्रदेशमा पनि पर्छ । यो सबै विचार पुर्याउन आवश्यक छ’, मुख्यमन्त्री लामाले भन्नुभयो ।
बजेटको विषयलाई मुख्य मुद्दा बनाएर केहि प्रदेशसभा सदस्यहरु आफूलाई असफल पार्न लागि परेकोे पनि उहाँले दावी गर्नुभयो । ‘बजेटको विषयलाई लिएर उहाँहरुले मलाई असफल भयो भन्नु भएको छ । उहाँहरुको आरोप सही छैन,’ समृद्ध समाजसँग मुख्यमन्त्री लामाले भन्नुभयो, ‘प्रदेश सरकारले काम गरिरहेको अवस्थामा एक्कासी नेतृत्व भएन भनेर निहुँ खोज्ने काम राम्रो होइन । हामीले एक वर्षमा गरेको कामको परिणाम देखिने बेलामा उहाँहरुले नेतृत्व परिवर्तन गर्न खोज्नु उचित होइन । म त्यसको सामना गर्छु ।’










