सांकेतिक तस्वीर ।

हेटौँडा : हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको रबर उद्योगका प्लान्ट ईन्चार्ज तथा स्टोरकिपर नै चोरीको अभियोगमा पक्राउ परेका छन् । गत जेठ २७ गते बाल्टिन तथा ग्यालिन उत्पादन गर्ने मेसिनमा प्रयोग हुने मेसिनरी औजर र सेन्सर चोरी गरेको अभियोगमा उद्योगका स्टोरकिपर रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय पुष्पारञ्जन दत्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दत्तले २२ लाख रुपैयाँ बराबरको सामान चोरी गरेको प्रहरीको भनाइ छ । सामान हराए पश्चात सिसि क्यामेराले कैद गरेको दृश्य हेर्दा दत्तले चोरी गरेको देखिएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले बुधबार चितवन जिल्लाको भरतपुर महानगरपालिका–४, लंकुबाट दत्तलाई पक्राउ गरेको छ । दत्तलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।