हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ स्थित रातोमाटे चेकपोष्टमा प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान ११ बजेर १५ मिनेटको समयमा नारायणगढबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३६७३ नम्बरको यात्रुबाहक बसलाई सुरक्षाजाँच गर्दा लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले बसमा सवार सुनसरी जिल्लाको इनरुवा–७ स्थायी घर भई हाल विराटनगर–६ बस्ने १८ वर्षीय आशनारायण चौधरीको साथबाट ५ किलो गाँजा बरामद भएको जनाएको छ । चौधरीलाई लागूऔषध मुद्दामा मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











