संगीत प्रशिक्षकलाई पारिश्रमिक रकमको चेक हस्तान्तरण गर्नुहुँदै अध्यक्ष प्रमेश प्रधान ।

हेटौँडा : रोटरी क्लब अफ हेटौँडाले हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीका लागि संगीत शिक्षा प्रदान गर्न आवश्यक दुइजना प्रशिक्षकको व्यवस्था गरिदिएको छ । एक वर्षसम्मका लागि संगीत प्रशिक्षण गराउने गरी बिहीबार संगीत प्रशिक्षकद्वय तुलबहादुर लामा र सुनिल केसीलाई पहिलो २ महिनाको पारिश्रमिक हस्तान्तरण गरेको छ ।

हेटौँडा–४ स्थित रोटरी क्लब अफ हेटौँडाको सचिवालय भवनमा क्लबका अध्यक्ष प्रमेश प्रधानले प्रशिक्षक लामा र केसीलाई पारिश्रमिक हस्तान्तरण गर्नुभएको हो । बालज्योति माविमा २२ जना दृष्टिविहीन विद्यार्थी अध्ययनरत छन् । दृष्टिविहीन विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता र आत्मनिर्भरता विकास गर्ने उद्देश्यले संगीत शिक्षा प्रदान गर्न लागिएको रोटरी क्लबले जनाएको छ । दृष्टिविहीन विद्यार्थीहरूका लागि संगीतको अभ्यासले जीवनयापनको आधार र अभिव्यक्तिको सशक्त माध्यम बन्ने पनि रोटरीको बुझाई छ ।

संगीत शिक्षाअन्तर्गत वाद्यवादनको अभ्यास गर्दै दृष्टिविहिन विद्यार्थी ।