हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा ३ जना मृत फेला परेको छ । मंगलबार प्रदेशको चितवन र काभ्रेपलाञ्चोकमा ३ जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको माडी नगरपालिका–४, स्थित सोमेश्वर मध्यवर्ती सामुदायिक वनको इकाई नम्बर ४ भित्र चितई खोलाको बगरमा शव फेला परेको छ । मंगलबार साँझ ६ बजेको समयमा खोलाले बगाएर ल्याएको सालको रुख मुनि शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
शव सडेगले अवस्थामा रहेको र टाउको, हातखुट्टा छुट्टाछुट्टै फेला परेको प्रहरीले जनाएको छ । शवको पुरुष वा महिला छुट्याउन नसकिने अवस्था रहेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनको कालिका नगरपालिका–९, स्थित शक्तिखोरको जंगलमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । शव राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्ण बहादुर प्रजाको रहेको प्रहरीले जनाएको छ । प्रजा छोरीलाई भेट्न असार २८ गते दिउँसो १ बजे कालिका नगरपालिका–९, शक्तिखोर गएका थिए । उनी सम्पर्कमा नआए पश्चात असार ३१ गते इलाका प्रहरी कार्यालय जुटपानीमा परिवारले निवेदन दिएको प्रहरीले जनाएको छ । मंगलबार राती १० बजेर ५५ मिनेटको समयमा मृतकको कपडाबाट परिवारका सदस्यले पहिचान गरेको हो । मुचुल्का पश्चात पोस्टमार्टमका शव चितवनको भरतपुरस्थित सरकारी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–६ नयाँबस्तीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा ७० वर्षीय कृष्ण बहादुर सार्की रहेको प्रहीले जानकारी दिएको छ । कृष्ण मंगलबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा आफ्नै घर नजिकै सडकछेउमा मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानको क्रममा मृतकको शरीरमा कुनै किसिमको चोटपटक नभेटिएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।










