फाइल तस्वीर ।

हेटौँडा : मकवानपुरमा गत आर्थिक वर्षमा ४०७ वटा दुर्घटनामा परेर ५० जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ को अवधिमा भएका सवारी दुर्घटनामा परेर १६३ जना गम्भीर घाइते भएका छन् भने ८०२ जना सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्यामु अर्यालका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मा १ हजार ७५ वटा मुद्धामा ९२८ जना अभियुक्त पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइहरुले अपराध अनुसन्धान, लागुऔषध नियन्त्रण, अवैध कारोबार नियन्त्रण, फैसला कार्यान्वयन तथा ट्राफिक व्यवस्थापनका अभियान अन्तर्गत उनीहरुलाई पक्राउ गरिएको जनाएको हो । लागु औषध सम्बन्धी १८८ वटा मुद्धामा २८९ जना व्यक्तिहरूलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका मध्ये २७६ जना नेपाली नागरिक रहेका छन् भने १३ जना विदेशी नागरिक रहेको उहाँले बताउनुभयो । सो अवधिमा प्रहरीले ६ हजार ४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५ हजार २७१ थान ट्रामाडोल तथा नाइट्राभेटर ट्याबलेट÷क्याप्सुल, २ हजार ७५७ एम्पुल डाईजेपाम, ४७६ ग्राम खैरो हेरोइन बरामद गरेको छ । उक्त घटनामा संलग्न ५५ वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक अर्यालले बताउनुभयो ।

अवैध भन्सार छलि नियन्त्रण अभियानअन्तर्गत प्रहरीले १६ करोड १७ लाख ७४ हजार २३ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको उहाँको भनाई छ । जसमा २ करोड ५९ लाख १९ हजार रुपैयाँ बराबरको लत्ता कपडा तथा खाद्यान्न, ८ किलो ७३५ ग्राम १४३ मिलिग्राम (१२, करोड १७ लाख २७ हजार ५०६ रुपैयाँ) सुन, २ किलो १९६ ग्राम (३ लाख ६६ हजार ५४९ रुपैयाँ) चाँदी, १० थान सवारी साधन (७० लाख ८१ हजार रुपैयाँ) र ६२ लाख ९० हजार ३५ रुपैयाँ बराबरको अवैध मुद्रा समेत नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । प्रहरी नायव उपरिक्षक अर्यालका अनुसार सो अवधिमा सवारी कारवाही ३० हजार ३४ वटा बाट २ करोड ४१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

उहाँका अनुसार सो अवधिमा फैसला कार्यान्वयनतर्फ १८३ जना फरार प्रतिवादी पक्राउ गरिएको छ । सो अवधिमा १ करोड २१ लाख ७३ हजार ८०५ जरिवाना असुल गरिएको छ भने ९९ वर्ष ११ महिना २३ दिन कैद सजाय कार्यान्वयनमा ल्याइएको छ ।

अवैध गिट्टी–बालुवा उत्खनन् नियन्त्रणतर्फ १९५ वटा कारबाहीहरु गरिएको उनले बताए । जसमा १६२ वटा ट्रयाक्टर, ३१ वटा टिप्पर र २ वटा स्काभेटर संलग्न रहेको उहाँले बताउनुभयो । उक्त घटनामा संलग्न भएकाबाट ११ लाख १५ हजार ५०० रुपैयाँ बराबरको राजस्व संकलन गरिएको छ ।

उक्त अधिमा मादक पदार्थ सेवन (मापसे)मा ८४४ जना र लागू पदार्थ सेवनमा २१ जनामाथि मुद्दा दर्ता गरिएको छ । सो अवधिमा प्रहरीले १२० बिगाहा ४ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा र ३९ बिगाहा १४ कठ्ठा अफिमको खेती नष्ट गरेको छ । यस अभियानमा ४२१ जना प्रहरी परिचालित गरिएको उहाँले बताउनुभयो