हेटौँडा : नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई हेटौँडामा सम्मान गरिने भएको छ । सञ्चारिका समूह मकवानपुरले सावित्रालाई नगद ५० हजार रुपैयाँसहित सम्मान गर्ने जनाएको छ । सावित्रालाई सम्मान गर्ने रकम भने हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रदान गर्नेछ ।
साउन १७ गते सञ्चारिका समूह मकवानपुरले आयोजना गर्ने ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ विषयक विशेष कार्यक्रममा सहभागी हुन आउने साम्बालाई सम्मान गर्न लागेको हो । सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको नेतृत्वमा सञ्चारकर्मीको एक समूहले हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीलाई सोमबार भेटेर साम्बालाई सम्मान गर्ने कार्यक्रममा सहयोगका लागि प्रस्ताव गरेको थियो । सञ्चारिका समूहको प्रस्तावलाई सकारात्मक रुपमा लिनुहुँदै प्रिन्सीपल जोशीले सहयोगको प्रतिवद्धता जनाउनुभएको हो ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले हालै न्यूजिल्याण्डको एक क्लबसँग आवद्ध भएर अष्ट्रेलियाली लिग खेल्ने तयारीमा छिन् । यसअघि साम्बा फ्रान्सेली क्लबमा आवद्ध थिइन् । भारत, इजरायल हुँदै फ्रान्स पुगेकी साम्बा महिला फुटबलमा नेपालको सर्वाधिक सफल खेलाडी समेत हुन् ।
