हेटौँडा : मकवानपुरका दलका नेताहरुले आम नागरिक विद्यमान कानूनदेखि डराउन छाडेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सोमबार भएको सर्वदलीय बैठकमा सहभागी जिल्लास्तरीय नेताले आम नागरिकमा कानुन प्रतिको सम्मान र डर हराउँदै गएको अनुभुति भएकोमा बताएका हुन् । उनीहरुले जिल्लाका सुरक्षा संयन्त्रहरुलाई ट्राफिक नियमको पालना र बजार अनुगमन कडाइका साथ गर्न पनि प्रशासनलाई सुझाव दिएका छन् ।
उनीहरुले पछिल्लो समय जनप्रतिनिधि, व्यापारी, व्यवसायी माथि सांघातिक आक्रमण बढ्दै गएकाबारे स्थानीय प्रशासन र प्रहरीको ध्यानाकर्षण समेत गराएका छन् । गत वर्षको प्राकृतिक विपद्ले पु¥याएको क्षतिको स्मरण गराउँदै यस वर्षको विपद्का सम्भावना सुरु भएको भन्दै उनीहरुले विपद व्यवस्थापनको विशेष तयारीमा लाग्न आग्रह समेत गरेका छन् । यस्तै सुरक्षाका लागि हाल शहरमा भएको सिसीटिभी क्यामरा कम भएको भन्दै तत्काल थप गर्न पनि आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले पनि दलहरुसँग जिल्लामा भइरहेका आपराधिक घटना तथा विपद् व्यवस्थापनको व्यवथापनमा दलहरुले निरन्तर प्रशासनसँग संवाद गर्नुपर्ने, विपद् व्यवस्थापनमा प्रशासनसँग हातेमालो गर्नुपर्ने, शान्ति अमन–चयन कायम गर्न रचनात्मक सहयोगको अपेक्षा गरेको जनाएको छ । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय प्रशासनको काम कारवाहीको विषयमा समीक्षा गरिदिन, आवश्यक सुझाव र अपेक्षा बताइदिन दलका प्रमुख तथा प्रतिनिधिलाई आग्रह गर्नुभएको थियो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेलले विधिको शासनको मान्यतालाई कायम राख्न पनि गैरकानुनी काम र अपराध नियन्त्रणमा राजनीतिक दलहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा माओवादी मकवानपुरका अध्यक्ष भीम पाख्रीन, राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुरका अध्यक्ष भरत पराजुली, नेकपा एमाले मकवानपुर जिल्ला सचिव सीता बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका किशोर अर्याल, नेपाली सेनाको गोरख बहादुर गण सुपारेटारका प्रमुख सेनानी निरञ्जन धामी, प्रहरी उपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरीका नायव उपरीक्षक विष्णुदत्त अवस्थीको उपस्थिति रहेको थियो । बैठकमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी कँडेलले आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा भएका गतिविधि तथा प्रगति विवरणहरु प्रस्तुत गर्नु भएको थियो ।
