जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गर्ने क्रम बढ्दै गएको छ । प्रहरीले एकै दिन ठूलो संख्यामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न थालेपछि मकवानपुर जिल्ला तथा हेटौंडा उपमहानगरपालिकामा लागूऔषधको कारोबार फैलँदै गएको आशंका बढेको छ । मकवानपुरको पश्चिम तथा उत्तरी क्षेत्रको ग्रामीण भेगमा उत्पादन हुने गाँजा तथा अफिम पनि हेटौंडाको बाटो भएर नै अन्य क्षेत्रमा जाने गर्दछ । लागूऔषध गाँजा तथा अफिम उत्पादनसमेत हुने गरेको मकवानपुर जिल्लामा लागूऔषध कारोबार विगतमा पनि व्यापक नै थियो । नेपाल र भारतबिच व्यापारिक कारोबार हुने मुख्य नाका वीरगञ्जबाट नेपाल भित्रने विभिन्न लागूऔषध हेटौंडा भएर नै देशको राजधानी काठमाडौं र पश्चिम क्षेत्रमा जाने भएकाले हेटौंडामा लागूऔषध कारोबारमा संलग्नहरु धेरै भेटिने गरेको मान्न सकिन्छ ।

लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले शुक्रबार र शनिबार ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले झण्डै ७ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा–१ र ५ का २० वर्षीय दुईजना युवक र भीमफेदी–२ बस्ने १९ वर्षीया दुईजना किशोरीको साथबाट लागूऔषध खैरो हेरोइन बरामद गरेको छ । हेटौंडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट मोटरसाइकलमा आएका पर्सा जिल्लाको पोखरिया नगरपालिका–१ का २७ वर्षीय युवकको साथबाट पनि खैरो हेरोइन बरामद गरेको छ । प्रहरीले सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–६ घर भई हाल हेटौंडा–९ बस्ने र सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ घर भई हाल हेटौंडा–१० बस्ने ३६ वर्षीय दुई युवकको साथै हेटौंडा–१५ का ३० वर्षीय युवकको साथबाट लागूऔषध खैरो हेरोइन बरामद गएको छ ।

मकवानपुर प्रहरीले बिहीबार र शुक्रबार पनि लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको थियो । हेटौंडा–२, सानोपोखराचोकको चिया पसलबाट लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको थियो । विशेष सूचनाकै आधारमा प्रहरीले चिया पसल सञ्चालक ४२ वर्षीया महिलासहित १९ वर्षीय किशोर र एक भारतीय नागरिकलाई लागूऔषध ट्रमाडोल र गाँजासहित बरामद गरेको हो । बिहीबार नै हेटौंडा–११ र १२ जोड्ने पुल नजिकबाट हेटौंडा–१२ का २२ वर्षीय र २६ वर्षीय दुई युवालाई लागूऔषध नाइट्राभेटसहित प्रहरीले पक्राउ गरेको थियो । विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा–२ मा डेरा गरी बस्ने २१ वर्षीय युवकलाई पक्राउ गरी लागूऔषध नाइट्राभेट र ट्रामाडोल बरामद गरेको थियो । मकवानपुर प्रहरीले बिहीबारदेखि शनिबारसम्म ३ दिनमा विभिन्न लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।

विगतमा प्रहरीले लागूऔषध ओसारपसारमा संलग्नहरुलाई रातोमाटे चेकपोष्ट तथा बसपार्क क्षेत्रबाट पक्राउ गर्दै आएकोमा पछिल्लो समय हेटौंडा बजार क्षेत्रमै लागूऔषध कारोबार गर्नेहरु पक्राउ पर्न थालेका छन् । प्रहरीले पछिल्लो तीन दिनमा पक्राउ परेकाहरु सबैजसो लागूऔषधका साधारण कारोबारी हुन् । यस्ता व्यक्तिहरुले आफैंले थोरै थोरै लागूऔषध भारतीय सीमा क्षेत्रबाट ल्याएर बिक्री गर्ने, कुनै गिरोहले भनेअनुसार लागूऔषध तोकिएको ठाउँमा लगिदिने तथा कसैसँग लागूऔषध खरिद गरेर सेवनकर्तालाई बिक्री गर्ने गर्दछन् । तीन दिनमै धेरै संख्यामा विभिन्न क्षेत्रबाट लागूऔषधसहित किशोरकिशोरी र युवाहरु पक्राउ पर्नुले हेटौंडामा लागूऔषधको समस्या जटिल बन्ने संकेत गर्दछ । प्रहरी प्रशासन र सबै सरोकारवाला सचेत भएर समयमै यसको नियन्त्रणमा चासो नदिए हेटौंडा लागूऔषध दुव्र्यसनी र कारोबारी अखाडामा परिणत हुने खतरा देखिन्छ ।