जालपादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई सहयोग सामग्री हस्तान्तरण गरिँदै।

हेटौंडाः नेपाल टेलिकम बागमती प्रदेश उपनिर्देशनालय हेटौंडाले मकवानपुरका ७ वटा विद्यालयमा झोला (स्कूल ब्याग) वितरण गरेको छ । आइतबार र सोमबार गरी मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकाका सातवटा विद्यालयमा झोला वितरण गरेको कार्यालयका स्टोर किपर गंगादत्त सिलवाले जानकारी दिनुभयो ।

निर्देशनालयले मनहरी गाउँपालिका–१ को बाल जीवनज्योति मावि, रजैयाको युवावर्ष गंगा आधारभूत विद्यालय, मनहरी–६ को राष्टिय रोटरी मावि र नवजागृति आधारभूत विद्यालयलाई झोला वितरण गरेको हो । यस्तै, बकैया गाउँपालिका–१ को कालिका मावि र मकवानपुरगढी गाउँपालिकाको कुर्लेमा रहेको बंशगोपाल मावि र डुम्रेकुनामा रहेको जालपादेवी माविलाई पनि झोला वितरण गरेको सिलवालले जानकारी दिनुभयो ।

निर्देशनालयले प्रत्येक विद्यालयलाई ३० थान झोला वितरण गरेको हो । निर्देशनालयका प्रमुख रवि मानन्धरको उपस्थितिमा झोला वितरण गरिएको थियो । निर्देशनालयले विद्यालयमा अध्ययनरत अति विपन्न, सीमान्तकृत र गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि स्कूल ब्याग वितरण गरेको हो ।