हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले बैशाखदेखि असारसम्ममा ३ जनालाई बैवाहिक अंगीकृत र ३ जनालाई गैरआवासीय नागरिकता प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालयले तीन महिनाको अवधिमा ३ हजार ७ सय ३२ जनालाई नागरिकता प्रदान गरेको छ । यि मध्ये १ हजार ७ सय ३४ जना पुरुष र १ हजार ९ सय ९३ जना महिलालाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
तीन महिनाको अवधिमा २ हजार ९ सय ९३ जनाले नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन् भने राष्ट्रिय परिचयपत्रका लागि १२ हजार २ सय २३ जनाको विवरण संकलन गरिएको छ । विद्युतीय राहदानीका लागि ४ हजार १ सय ४३ जनाले दिएको आवेदन राहदानी विभागमा सिफारिस गरी पठाएको प्रशासनले जनाएको छ । तीन महिनाको अन्तरालमा जिल्ला प्रशासन कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय, आन्तरिक राजश्व कार्यालय र जिल्ला हुलाक कार्यालयको अनुगमन गरेको छ भने ७ पटक बजार अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा तीन महिनाको अवधिमा ४० वटा विभिन्न मुद्दाहरु परेका थिए भने ३२ वटा मुद्दाका फैसला भएको छ । यि तीन महिनाको अवधिमा ७ वटा नयाँ संघ, संस्था दर्ता भएका छन् भने ८८ वटा जिल्लामा कार्यरत संघ संस्थाले दर्ता नवीकरण गराएका छन् । कार्यालयले बैदेशिक रोजगारको विषयमा समस्यामा परेका १ जनालाई २ लाख ७१ हजार ३ सय ९७ रुपैयाँ क्षतिपूर्ति दिलाएको छ । यस्तै १६ जनालाई विपद् राहत वापत ५ लाख ७५ हजार रुपैयाँ र सवारी दुर्घटनाबाट पीडितलाई २९ लाख रुपैयाँ खर्च गरेको छ भने जिल्लाका द्वन्द्वपीडितका लागि ४ लाख ६० हजार रुपैयाँ राहत रकम प्रदान गरेको छ ।
















