हेटौँडा : हेटौँडा अस्पतालले हेटौँडा–५, पिप्ले निवासी ९ वर्षीया बालिका सामना अर्यालको उपचारमा लापरबाही गरेको भन्दै विभिन्न संस्थाका प्रतिनिधीहरुले अस्पतालले बिरामीको उपचार खर्च व्यहोर्नुपर्ने माग गरेका छन् । बिहिबार विभिन्न संघ, संस्था लगायत दलका प्रतिनिधीहरुले अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीहरुसँग छलफल गर्दै क्षतिपूर्तिस्वरुप बिरामीको उपचार खर्च व्यहोर्नुपर्ने माग गरेका हुन् ।
बुधबार बिरामीका अभिभावकले सामाजिक सञ्जालमार्फत हेटौँडा अस्पतालले गरेको उपचारका प्रक्रियाहरु उल्लेख गर्दै हेटौंडा अस्पतालले लापरबाही गरेको आरोप लगाएपछि बिहीबार विभिन्न समूहका प्रतिनिधिहरुले अस्पताल प्रशासन तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुसँग छलफल गरेको हो । छलफलका क्रममा अस्पतालले लापरबाही नभएको स्पष्ट कारण देखाउन नसकेको भन्दै उपचार खर्च नव्यहोरे आफुहरु आन्दोलनमा जाने चेतावनी दिएका छन् । यस्तै हेटौँडा अस्पतालको सुधारोन्मुख अवस्थामा स्वास्थ्यकर्मीको यस्तो लापरबाहीले जनमानसमा पुनः अस्पतालप्रतिको विश्वासमा नकारात्मक असर पर्ने उनीहरुको भनाइ छ ।
हेटौँडा अस्पताल प्रशासनले भने लापरबाही गरेको इन्कार गरेकोे छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले उपचारको क्रममा भएका विभिन्न परीक्षणहरुमा एपेन्डिक्स फुलेको वा फुटेको कुनै अवस्था नदेखिएको बताउनुभएको छ । ‘प्रविधिमार्फत थाहा हुने विषयमा प्रविधिले जे नतिजा देखायो हामीले यसैअनुरुप उपचार पद्दति अपनाउँदै जाने हो’, उहाँले भन्नुभयो, ‘एपेन्डिक्सको समस्यातर्फ हाम्रो शंका बढ्दै गइरहेको थियो तर उहाँहरु सिटी स्क्यान अघि आफैं थप उपचारका लागि कान्ति बाल अस्पताल जानुभयो ।’
छलफलका क्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भिमसागर गुरागाईले २ दिनपछि फेरी सम्बन्धित बिरामीको परिवारसहित सर्वपक्षीय छलफल गर्दै निर्णय गरिने आश्वासन दिनुभयो । छलफलमा हेटौंडा–५ का वडा अध्यक्ष सुशील घिमिरे, सामाजिक सेवा सुधार संघर्ष समिति, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधी लगायत विभिन्न व्यावसायिक संस्थाका प्रतिनिधीहरु र वडा नम्बर ५ का स्थानीय युवाहरुको सहभागिता थियो ।
बिरामीका अभिभावकहरुले दिएको जानकारी अनुसार बालिका असार ९ गते पेट दुख्ने तथा वान्ता हुने भएपछि हेटौँडा अस्पतालमा स्वास्थ्यजाँच जाँदा डेंगु तथा टाइफाइड भएको भन्ने स्वास्थ्यकर्मीहरुको भनाइ आएको थियो । यसपछि भर्ना गरेर डेंगुको उपचार गर्दै रगत परीक्षण तथा २ पटक भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गरिएको थियो । तर अस्पतालले चलाएको औषधीले बिरामीका समस्या कम पार्नुको सट्टा बढ्दै गएपछि असार १५ गते काठमाडौंस्थित कान्ति बाल अस्पतालमा भर्ना गरेको उनीहरुको भनाइ छ ।
कान्ति बाल अस्पतालमा सिटी स्क्यान गर्दा बालिकाको एपेन्डिक्स फुटिसकेको पाइएपछि शल्यक्रिया गरिएको अभिभावकले जानकारी दिएको छ । एपेन्डिक्स फुटेर इन्फेक्सन फैलिएको हुनाले बालिकाको दोस्रो पटक पनि शल्यक्रिया गरिएको परिवारले जनाएको छ । उपचारका क्रममा अझै १ पटक शल्यक्रिया गर्न बाँकी रहेको बालिकाकी आमा सुनिता अर्यालले जानकारी दिनुभयो । हेटौँडा अस्पतालका स्वास्थ्यकर्मीबाट सिटी स्क्यानका लागि सिफारिस नगरिदिएकाले रोग पहिचान हुन ढिलाई भएकोे अभिभावकहरुको आरोप छ । बालिकाको बिग्रँदो स्वास्थ्य अवस्थामा पनि पहिचान गर्न तदारुकता नदेखाएर लापरबाही गरेको उनीहरुको ठहर छ ।











