हेटौँडा : हेटौंडा राइडर्स क्लबको आयोजनामा यस वर्षको हेटौँडा कोरा–२०२५ साइकल च्यालेन्ज भोलि साउन ३ गते शनिबार हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबले आफ्नो आठौं संस्करणको कार्यक्रमबारे जानकारी दिएको हो ।
करिब ५० किलोमिटरको दुरी रहने यस र्याली शनिबार बिहान ६ बजे शुरु हुने क्लबका सदस्य बिपिन ताम्राकारले जानकारी दिनुभयो । र्याली हेटौँडा–४ स्थित पशुपति मन्दिरबाट प्रारम्भ भई फरेष्ट्री कलेज जंगल हुँदै भुटनदेवी मन्दिर, टिसिएनरोड हुँदै बुद्धचोक निस्कनेछ । यस्तै त्यहाँबाट चौकिटोल, जलेश्वर मन्दिर, वनस्खण्डी मन्दिर, मनकामना चोक, सानोपोखरा हुँदै हेटौँडा रिसोर्ट, क्याम्पाडाँडा, चौघडा हुँदै चुच्चेखोला पुग्नेछ । यसपछि हटिया, गौरीटार, भोर्ले, रोतोमाटे हुँदै महेन्द्र राजमार्ग हुँदै त्रिवेणीधाम, हेटौँडा सिमेन्ट रोड, गुम्बा चोक, कर्रा हुदै पुनः बुद्धचोक पुगेर समापन हुने आयोजकले जानकारी दिएको छ ।
कोराको अर्थ पवित्र मन्दिर, चैत्य, गुम्बा, मूर्ति लगायत सम्मानित चिजलाई दायाँ पारेर घुम्नु हो । यसर्थ हेटौँडाका पवित्र धार्मिकस्थलहरुलाई दायाँ पारेर परिक्रमा गर्ने रुट मिलाइएको आयोजकले जानकारी दिएको छ । सन् २०१८ देखि आयोजना हुँदै आएको यो कार्यक्रमको उद्देश्य शहरलाई साइकलसँग जोड्नु र स्थानीय तीर्थस्थल र वस्तीहरुको पहिचान गराउनु रहेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताउनुभयो । जिल्ला बाहिरबाट चितवन, पर्सा, बारा, काठमाडौं लगायतका जिल्लाबाट पनि सहभागीहरु आउने भएकोले हेटौँडाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा आयोजकको छ । यस कार्यक्रमका लागि ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ५, ६, ९, १०, १३, १५ र अन्य संघसंस्थाको सहयोग रहने पनि अध्यक्ष ताम्राकारको भनाइ छ ।
सामूहिक साइकलयात्राको रुपमा हुन लागेको च्यालेन्जमा १२ वर्षभन्दा माथि उमेर समूहका महिला पुरुष जोकोही ३ सय रुपैयाँको फारम भरी सहभागी हुन सक्ने छन् । सहभागीले जुनसुकै पनि मोडलका साइकल लिएर कार्यक्रममा सहभागी हुन सक्ने आयोजकले जनाएको छ । २ सय ५० जनाले नाम दर्ता गराइसकेकाले ३ सय जना भन्दा बढी सहभागीहरु रहने अनुमान आयोजकको छ ।











