हेटौँडा : मकवानपुरगढी गाउँपालिका–७ स्थित बागेश्वरी आधारभूत विद्यालय बन्द भएको छ । ३ कक्षासम्म पठनपाठन भइरहेको विद्यालयमा विद्यार्थी नभएका कारण बन्द भएको विद्यालयकी प्रधानाध्यापक विपना थिङले जानकारी दिनुभयो ।
गत वर्ष १८ जना विद्यार्थी भर्ना भएका थिए । यस वर्ष विद्यार्थी नै भर्ना हुन नआएपछि विद्यालय बन्द भएको उहाँको भनाइ छ । यस वर्ष विद्यालयमा एक जना विद्यार्थीमात्र भर्ना हुन आएको प्रधानाध्यापक थिङले बताउनुभयो । विद्यालय नजिकै अन्य विद्यालय रहेको र टाढाका विद्यालयले पनि बसको सुविधा उपलब्ध गराएपछि विद्यालयमा विद्यार्थी भर्ना हुन नआएको उहाँले जानकारी दिनुभयो । कतिपय अभिभावकले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउन पठाएको उहाँले बताउनुभयो ।
विद्यार्थी भर्ना नभएपछि विद्यालयका शिक्षकहरुलाई अन्य विद्यालयमा पठाइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले जानकारी दिनुभयो । घलानका अनुसार अहिले विद्यालय बन्द अवस्थामा छ । आगामी वर्ष विद्यार्थी भर्ना भए पुनः पठनपाठन सञ्चालन गरिने उहाँको भनाइ छ । तत्काल विद्यालय खारेज नहुने घलानले बताउनुभयो ।
गत वर्ष पनि मकवानपुरगढी गाउँपालिका–३ मा रहेको २ वटा विद्यालयमा विद्यार्थी संख्या तोकेअनुसार नभएका कारण डिग्रेड (कक्षा घटुवा) गरिएको थियो । १ देखि ५ कक्षासम्म पठनपाठन हुने कालीदेवी आधारभूत विद्यालय र १ देखि ८ कक्षासम्म पठनपाठन हुने सरस्वती आधारभूत विद्यालयमा विद्यार्थी संख्या कम भएका कारण डिग्रेड गरिएको गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयालले जानकारी दिनुभयो ।
मकवानपुरगढी गाउँपालिकामा वर्षेनि विद्यार्थी घट्दो अवस्थामा रहेका छन् । २०७९ सालमा पालिकाभरि ७ हजार ५ सय १४ जना विद्यार्थी रहेकोमा २०८० सालमा ९ सय ३२ जना विद्यार्थी घट्दै ६ हजार ५ सय ८२ जना पुगेका थिए । यस्तै, २०८१ सालमा एक हजार ५४ जना विद्यार्थी घटेर ५ हजार ४ सय २६ जना भर्ना भएका थिए भने यस शैक्षिक सत्रमा ५ हजार २९ जना विद्यार्थी भर्ना भएका छन् । विद्यार्थी संख्या घट्दै जानुको मुख्य कारण जनसंख्या वृद्धिमा कमी हुनु, बढ्दो शहरीकरण, रोजगारीका लागि बाहिर जानु, पर्याप्त सेवा सुविधालगायत कारण रहेका छन् । पालिकाभित्र कक्षा ३ सम्म पठनपाठन हुने १५ वटा विद्यालय रहेका छन् । कक्षा ४ देखि माथिका कक्षासमेत सञ्चालन भएका १७ वटा विद्यालय रहेका छन् ।











