
हेटौँडा : शिक्षक जनशक्तिको अभाव बढ्दै गएपछि हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा पठनपाठन गराउने भएको छ । दक्ष शिक्षक जनशक्ति तयार पार्न पर्याप्त अभ्यास कक्षा, व्यक्तित्व विकासका कार्यक्रम समेत गर्ने योजना बनाएको म्यानेजमेन्टले विद्यार्थीलाई मासिक पाकेट खर्च वापत १ हजार रुपैयाँ पनि दिने जनाएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरेर म्यानेजमेन्टले कक्षा ११ मा नेपाली, अंग्रेजी र गणित विषयमा १० जनाका दरले ३० जना विद्यार्थीलाई शिक्षाशास्त्रमा भर्ना गर्ने जनाएको छ । हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले दक्ष जनशक्ति तयार पार्न पूर्ण छात्रवृत्ति र थप प्रोत्साहनसहित शिक्षाशास्त्र संकायमा पठनपाठन गराउन लागेको बताउनुभयो । २ वर्षपछि तिनै विद्यार्थीलाई लक्षित गरेर स्नातक तहमा पनि शिक्षाशास्त्र संकाय सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
हेटौँडा स्कूल अफ म्यानेजमेन्ट नाफामुखी संस्था भए पनि कक्षा–११ मा शिक्षाशास्त्र संकायमा प्रोत्साहनसहितको पूर्ण छात्रवृत्ति कार्यक्रम सामाजिक उत्तरदायित्वबाट समेत प्रेरित भएर सञ्चालन गर्न खोजिएको प्रिन्सीपल जोशीले बताउनुभयो । हेटौँडा स्कूल अफ म्यानेजमेन्टले हेटौँडा–४ स्थित नवोदय शिशु सदन र नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा कक्षा–११ मा शिक्षाशास्त्र संकायमा पठनपाठन सुरु गर्न लागेको हो ।
शिक्षाशास्त्र संकायतर्फको पठनपाठनका क्रममा विद्यार्थीलाई पाठ्यक्रमअनुसारको पठनपाठन मात्रै नभई उनीहरुको व्यक्तित्व, नेतृत्व विकासका कार्यक्रम तथा अध्यापनको अभ्यासमा समेत सन्तुलितरुपमा प्रशिक्षित गराइने प्रिन्सीपल जोशीको भनाइ छ । विद्यार्थीलाई साताको २ देखि ३ पटक अभिप्रेरणामूलक कक्षा समेत सञ्चालन गरिने बताइएको छ ।
प्रोत्साहनसहितको पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले अध्ययन पूरा गरेपछि रोजगारीको अवसर सुनिश्चित हुने दावी पनि म्यानेजमेन्टको छ । कक्षा–११ को पठनपाठन साउन ११ गतेबाट सुरु हुनेछ ।










