मुलुकमा आर्थिक विकास र समृद्धिका कुरा धेरै हुने गरेको छ । उत्पादनभन्दा उपभोक्तावादी संस्कृति बढ्दै गएको छ । उत्पादन बढाउनेतिर कसैको ध्यान छैन । बहुसंख्यक युवा रोजगारी र अध्ययनका नाममा विदेशिएका छन् । कृषि तथा अन्य क्षेत्रको उत्पादकत्व वृद्धिका लागि आवश्यक जनशक्ति देश बाहिर भएकै कारण परनिर्भरता पनि बढ्दै गएको छ । कम लगानीमा व्यावसायिक कृषिमा उत्साह साथ लाग्ने वातावरण सरकार बनाउन नसके पनि हेटौंडा–१३, पदमपोखरीकी रविना बलले उदाहरणीय काम गरेकी छिन् । वैदेशिक रोजगारीमा मलेसिया पुगेका श्रीमानले घर आउँदा मलेसियाबाटै ल्याएको तीन वटा अम्बाको विरुवालाई व्यावसायिक अम्बा खेतीमा परिणत गर्न सफल भएकी हुन् । करिब ९ वर्षअघि ल्याइएको तीन वटा बिरुवालाई रविनाले अहिले व्यवसायमा परिणत गरेकी हुन् ।
रविनाले सुरु गरेको अम्बा खेती अहिले ६ कठ्ठा जमिनमा फैलिएको छ । उनले ६ कठ्ठा जमिनमा रोपेको ६५ वटा बोटमा फलेको अम्बा बिक्री गरेर हालसम्म १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेकी छिन् । थप १५ वटा बिरुवा फल दिने तयारीमा छ । अन्तर्राष्ट्रिय बजारमा ‘लोहान’ भनेर चिनिने सो अम्बालाई नेपालमा केजी अम्बा भनेर चिनिन्छ, जुन एउटै फल आधा केजीदेखि १ केजीसम्म तौलको हुन्छ । यसको स्वाद मिठो हुने भएकाले २ सय रुपैयाँ प्रतिकिलोको दरमा अम्बा बिक्री भइरहेको उनको भनाइ छ । उच्च गुणस्तरको उत्पादन र बजारमा राम्रो माग रहेकाले आगामी वर्षदेखि अम्बा खेती अझै विस्तार गर्ने योजना छ । कुनै अध्ययन र तालिमबिनै अम्बाको व्यावसायिक खेती गर्दै आएकी रविनाले दुई वर्ष अघिदेखि उक्त अम्बाको विरुवासमेत बिक्री गरिरहेकी छिन् । वर्षमा २ पटक उत्पादन लिन सकिने उक्त अम्बा छिमेकीले पनि खेती गर्न थालेका छन् ।
आगामी दिनमा उत्पादन भएको अम्बालाई सिधै बजारसम्म पुर्याउने, प्याकेजिङ तथा ब्रान्डिङ गर्ने र अन्य किसानहरूलाई पनि खेतीका लागि प्रेरित गर्ने रविनाको योजना छ । देशमा खनिज तथा अन्य औद्योगिक उत्पादन वृद्धि गर्न धेरै समय लाग्ने भए पनि कृषिजन्य वस्तुको उत्पादन चाँडै वृद्धि गर्न सकिन्छ । खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्न वर्ष दिन पनि कुर्नुपर्दैन । फलफूल, दूग्धपदार्थ, माछामासुमा आत्मनिर्भर हुन बढीमा दुई तीन वर्ष लाग्ला । तर, यसका लागि दृढताका साथ योजनावद्ध किसिमबाट अघि बढ्नुपर्छ । व्यावसायिक कृषि गर्न चाहने वास्तविक किसान पहिचान गरेर सरकारले हरसम्भव सहयोग गर्नुपर्छ । सरकारले कृषि क्षेत्रको विकास लागि सञ्चालन गरेको अधिकांश कार्यक्रम प्रभावहीन बनिरहेको अवस्थामा सरकार थप गम्भीर हुनु आवश्यक छ ।
कृषिको आधुनिकीकरण र व्यावसायिकरणलाई प्रभावकारी बनाउन सकिएको छैन । देशको आधाभन्दा बढी जनसंख्या कृषि पेसामा रहेको तथ्यांक देखाएर कृषिको विकासमा अरबौं रकम खर्चंदै आएको तीनै तहको सरकारले एउटामात्र कृषि बालीमा आत्मनिर्भर बन्ने अवस्था सृजना गर्न सकेको छैन । बागमती प्रदेश सरकारले सुरुवातदेखि नै विभिन्न कृषि तथा पशुजन्य उत्पादन वृद्धि गरी प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने नीति लिए पनि कार्यान्वयन फितलो बनिरहेको छ । नीतिकै आधारमा अहिलेसम्म बागमती प्रदेश माछामासु, अण्डा, दूध, फलफूल, तरकारी, पुष्प, मह, च्याउ र खाद्यान्नमा आत्मनिर्भर भइसक्नुपथ्र्यो । नीतिअनुरुप काम हुन नसक्दा कृषिमा व्यावसायिकरण हुन नसकेको हो । कामबाट मात्र कृषिलाई व्यावसायिक बनाउन सकिने तथ्यलाई सबैले बुझ्नु आवश्यक छ ।
