रविनाको व्यावसायिक अम्बा खेती ।

हेटौँडा : हाम्रो दैनिक जीवनमा गरिने सामान्य कामलाई पनि रचनात्मक सोचले व्यावसायिक बनाउन सकिन्छ भन्ने प्रेरणादायक उदाहरण हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरीकी रविना बलले प्रस्तुत गर्नुभएको छ । रविनाका श्रीमानले घरको बगैंचामा रोप्न भनेर मलेसियाबाट ल्याउनुभएको अम्बाका तीन वटा बिरुवा अहिले व्यावसायिक अम्बा खेती बन्न पुगेको छ ।

सन् २०१० मा बैदेशिक रोजगारीका लागि मलेसिया जानुभएका रविनाका पति रामबहादुर मोक्तान मलेसियास्थित एक कृषि फार्ममा काम गर्नुहुन्थ्यो । उहाँले मलेसियामा रहँदा ‘लोहान’ प्रजातिको अम्बा खाँदा ठूलो, अनौठो र मिठो लागेपछि सन् २०१६ मा बिदा लिएर नेपाल आउँदा तीन वटा बिरुवा ल्याउनुभयो । त्यहि बिरुवालाई रविनाले व्यवसायमा परिणत गर्नुभएको हो ।

सुरुवातमा तीन वटा विरुवा हुर्केर फल्न थालेपछि रविनाले हेटौंडाका लागि नयाँ हुनसक्ने सोचेर व्यावसायिक बनाउने योजना बनाउनुभयो । तीन वटा विरुवाबाट सुरु गरिएको अम्बा खेती अहिले ६ कठ्ठा जमिनमा फैलिएको छ । रविनाले लगाएको अम्बाका विरुवाबाट व्यावसायिक उत्पादन भइरहेको छ ।

‘ठूलो र स्वादमा पनि अनौठो अम्बा फलेको देखेपछि हेटौँडामा यो नयाँ उत्पादन हुन्छ जस्तो लाग्यो’, रविनाले भन्नुभयो, ‘यसलाई व्यावसायिक बनाउँदा फाइदा हुन्छ जस्तो लागेर त्यही तीनवटा विरुवाबाट सुरु भएको अम्बा खेती अहिले व्यावसायिक स्तरमा पुगिसकेको छ ।’ हालसम्म रविनाले ६ कठ्ठा जमिनमा रोपेको ६५ वटा बोटमा फलेको अम्बा बिक्री गरेर १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको बताउनुभएको छ । थप १५ वटा बिरुवा फल दिने तयारीमा रहेको उहाँको भनाइ छ ।

हाल २ सय रुपैयाँ प्रतिकिलोको दरमा अम्बा बिक्री गर्दै आएको रविना बताउनुहुन्छ । अन्तर्राष्ट्रिय बजारमा ‘लोहान’ भनेर चिनिने सो अम्बालाई नेपालमा केजी अम्बा भनेर चिनिन्छ, जुन एउटै फल आधा केजीदेखि १ केजीसम्म तौलको हुन्छ । यसको स्वाद स्याउभन्दा पनि मिठो भएको उपभोक्ताको प्रतिक्रिया रहेको उहाँको भनाइ छ ।

उत्पादन उच्च गुणस्तरको र बजारमा माग बढ्दो रहेकाले रविनाले आगामी वर्षदेखि अम्बा खेती अझै विस्तार गर्ने योजना बनाउनुभएको छ । सुरुमा उहाँलाई श्रीमानले मलेसियाबाट नै यसको व्यवस्थित खेती गर्ने तरिका फोनमार्फत् सिकाउनुहुन्थ्यो भने केही वर्ष यता आफैंलाई अनुभव बढ्दै गएको उहाँको भनाइ छ । यो व्यवसायलाई अघि बढाउन श्रीमानले पनि महत्वपूर्ण भूमिका खेल्नुभएको रविनालाई लाग्छ । उहाँले उत्पादन गरेका अम्बा देशकै ठूला डिपार्टमेन्टल स्टोरहरुले खरिद गर्ने गरेको उहाँको भनाइ छ । रविना भन्नुहुन्छ, ‘भारत र चीनलगायत अन्य छिमेकी देशबाट नेपालका शहरहरुमा ठूलो परिमाणमा अम्बा आयात हुने गर्छ । यदि हामीले यहाँकै उत्पादनलाई प्राथमिकता दिन सक्यौं भने आयातित फललाई विस्थापित गर्न सकिन्छ र स्थानीय किसानको आम्दानी पनि बढ्छ ।’

‘मैले यी बिरुवाहरुलाई आधुनिक ढंगले खेती गर्दा राम्रो नतिजा आउँछ भन्ने सोचेर बिस्तार गरेको थिएँ । वर्षमा २ पटक उत्पादन लिन सकिने भएकाले सोचेजस्तै फाइदा हुँदै गएको छ’, रविना भन्नुहुन्छ, ‘खेतीपातीलाई आधुनिक बनाउँदै गयो भने यसैबाट रोजगार र आत्मनिर्भरता दुबै बढ्दै जान्छ ।’

आगामी दिनमा आफ्ना उत्पादनलाई सिधै बजारसम्म पुर्‍याउने, प्याकेजिङ तथा ब्रान्डिङ गर्ने र अन्य किसानहरूलाई पनि प्रेरित गर्नेलगायतका लक्ष्य पनि रविनाले राख्नुभएको छ । सुरुसुरुमा छिमेकीहरुलाई सित्तैमा यसको बिरुवा बाँडिरहनुभएकी उहाँले २ वर्षदेखि बिरुवाको पनि व्यावसायिक बिक्री वितरण गर्न सुरु गरिसक्नुभएको छ । हाल उहाँको सिको गर्दै कतिपय छिमेकीहरुले पनि सोही अम्बाको खेती सुरु गरेका छन् ।

हालसम्म पनि मलेसियामा रोजगारीमा रहनुभएका रविनाका श्रीमान रामबहादुर श्रीमतीको पौरखमा खुशी व्यक्त गर्नुहुन्छ । बिदाको सिलसिलामा हाल घर आउनुभएका मोक्तान भविष्यमा व्यवसाय अझै बिस्तार भए आफूलाई पनि यसैमा जोड्न सकिने कुरामा सकारात्मक हुनुहन्छ ।