जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस वर्ष बजार अनुगमनलाई तीव्र पार्ने भएको छ । उपभोक्ताको स्वास्थ्य र अधिकारको संरक्षण गर्ने उद्देश्यले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ लगायत प्रचलित कानुनअनुसार प्रशासन कार्यालयले गत बैशाखमा बजार अनुगमनका लागि ६ वटा विषयगत समिति गठन गरेको थियो । हरेक हप्ता कम्तीमा एकपटक बजार अनुगमन गर्ने लक्ष्यसहित काम सुरु गरिए पनि अनुगमनले नियमितता भने पाएको छैन । उपभोक्तालाई ठगीबाट जोगाउने र अखाद्य तथा गुणस्तरहीन सामग्रीको बिक्री वितरणमा रोक लगाउने प्रयासस्वरुप समितिहरुले चरणबद्ध बजार अनुगमन गर्दै आएको प्रशासन कार्यालयको दावी छ । वैशाखदेखि असारसम्म गरिएको अनुगमनको क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका सामग्री बिक्री गर्ने र सरसफाइमा लापरबाही देखाउने केही व्यावसायिक संस्थाहरूलाई जरिवाना गरिएको छ ।
म्याद गुज्रिएका उपभोग्य सामग्रीहरू बिक्री गरेको भन्दै हेटौंडाको भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । म्याद सकिएको सामग्री बिक्री गरेको हेटौंडा–४ स्थित न्यू शिवाकोटी सप्लायर्सलाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको थियो । हेटौंडा–७ मा रहेको आशीष बेकरी, भूटनदेवी बेकरी र हेटौंडा–४ मा रहेको अफान बेकरीमा सरसफाइको कमी, गुणस्तरहीन सामग्री भेटिएपछि ३ वटै उद्योगहरुलाई संयुक्तरुपमा १ लाख ४० हजार रुपैयाँ जरिवाना गरिएको छ । हेटौंडा–५ मा रहेको हिमाल बेकरी उद्योगले स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएपछि २० हजार रुपैयाँ जरिवाना गरिएको थियो । हेटौंडा–१० मा रहेको रोज केक हाउसलाई पनि सरसफाइको अभाव र खाद्य सुरक्षामा चासो नदिएको पाइएपछि जरिवाना गरिएको थियो । हेटौंडा अस्पताल परिसरमा सञ्चालित सुनिल क्यान्टिनको अनुगमन गर्दा अखाद्य तेल प्रयोग गरेको, म्याद गुज्रिएका खानेकुरा बिक्री गरेको र मूल्यसूचीसमेत नराखेको भेटिएपछि प्रशासनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।
बजारमा देखिने अव्यवस्था र विकृति नियन्त्रण गर्न प्रभावकारी अनुगमन आवश्यक हुन्छ । जिम्मेवार निकायले अनुगमन र कारबाहीमा पर्याप्त चासो नदिँदा बजारमा विकृति बढ्दै गएको छ । बजारको नियमन र कालोबजारी रोक्न अनुगमन र कारबाहीलाई व्यापक बनाउनु आवश्यक देखिन्छ । विगतमा दशैं–तिहारजस्ता प्रमुख चाडपर्वको समयमा अनुगमन गर्ने गरिएको भए पनि यस वर्ष जिल्ला प्रशासन कार्यालयले बैशाखबाटै अनुगमन गरिरहेको छ । प्रशासन कार्यालयले भनेजस्तो प्रत्येक हप्ता अनुगमन हुन नसके पनि अनुगमनका क्रममा कानुनबिपरित कार्य गरिरहेका व्यवसायीलाई कारबाही गरिनुलाई सकारात्मक मान्नुपर्छ । औषधि, खाद्यान्न, होटल, फलफूल, तरकारी, माछामासु, पानी, बेकरीलगायत वस्तु सिधै उपभोक्ताको स्वास्थ्यसँग जोडिएका हुन्छन् । यस्ता वस्तु उत्पादन तथा बिक्री गर्ने व्यवसायलाई अनुगमनमा महत्व दिनुपर्छ ।
बजार अनुगमनका क्रममा म्याद गुज्रिएका र लेबल नलगाएका सामान भेटिने गरेका छन् । अनुमतिबिना व्यवसाय सञ्चालन भएको, फरक गुणका वस्तुहरु एकैठाउँमा राखिएको, होटलहरुमा फोहोर र खुलारुपमा खानेकुरा बनाइएकोजस्ता विकृति भेटिन्छन् । यसले नियमित बजार अनुगमन र उचित कारबाहीको आवश्यकता देखिन्छ । उपभोक्ता हित संरक्षण र व्यावसायिक स्वच्छता कायम राख्न नियमित अनुगमन र कारबाही हुनैपर्छ । व्यवसायीबाट उपभोक्ता पीडित बनिरने र जिम्मेवार निकाय मूकदर्शक भएर बस्ने अवस्था अन्त्य हुनु आवश्यक छ । जिल्ला प्रशासनले निरन्तर जिल्लाका सबै क्षेत्रका बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउनुपर्छ । स्थानीय सरकारसमेतको संलग्नतामा अनुगमनलाई तिब्रता दिनुपर्छ ।
