Home अर्थ/व्यापार ज्ञानदीप बहुउद्देश्यीय सहकारीले बचत तथा ऋणलाई विस्तार गर्ने

ज्ञानदीप बहुउद्देश्यीय सहकारीले बचत तथा ऋणलाई विस्तार गर्ने

बचत तथा ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी अतिथिहरु ।

हेटौँडा : हेटौँडा–५, भैरवरोडस्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋण कार्यक्रमलाई विस्तार गर्ने भएको छ । सहकारीमार्फत विद्यालय सञ्चालन गरेर नमूनाको रुपमा स्थापित ज्ञानदीपले आगामी आर्थिक वर्षदेखि बचत तथा ऋण कार्यक्रमलाई विस्तार गर्ने गरी शनिबार हेटौँडामा सदस्यलाई अभिमुखीकरण गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ देखि सहकारीले बचत तथा ऋण कार्यक्रमलाई विस्तार गर्ने तयारीस्वरुप शेयर सदस्यहरुलाई प्रभावकारी बचत तथा ऋण परिचालनबारे वित्तीय ज्ञान दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको सहकारीका कोषाध्यक्ष मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । ५ सय ९४ जना सेयर सदस्य रहेको बहुउद्देश्यीय सहकारीमा बचत तथा ऋण कार्यक्रममा हालसम्म १ सय जना मात्रै सहभागी रहेको तथा ऋण परिचालन हुन नसकेको सन्दर्भमा सहकारीले बचत तथा ऋण कार्यक्रमलाई विस्तार एवम् व्यवस्थित गर्न खोजेको कोषाध्यक्ष न्यौपानेले बताउनुभयो । शनिबारको अभिमुखीकरणमा सहभागी मध्ये १ सय जनाले बचत तथा ऋण कार्यक्रममा सहभागी हुने प्रतिवद्धता समेत जनाएको कोषाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

सहकारीको बचत तथा ऋण उपसमितिको आयोजनामा भएको कार्यक्रममा प्रशिक्षण दिनुहुँदै राष्ट्रिय सहकारी बैंक बागमती कार्यालयका प्रमुख रामेश्वर अर्यालले बचत गर्ने बानी घट्दै गएको बताउनुभयो । उहाँले बचत गर्नुपर्ने कारण, बचत गर्ने तौरतरिका लगायत सहकारी संस्थाले प्रभावकारी ढंगले बचत परिचालन गर्ने विषयमा सहजीकरण गर्नुभयो । यस्तै कार्यक्रमका अर्का प्रशिक्षक हेटौँडा उपमहानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटाले हेटौँडाका अधिकांश सहकारी संस्थाहरुले पारदर्शिता कायम गर्न नसकेको बताउनुभयो । वर्तमान परिप्रेक्ष्यमा सहकारी संस्थाहरु राजनीतिक भागबन्डाको शिकार भएका, सहकारीका सदस्यहरुलाई संस्थाको अवस्थाप्रति चासो नभएको, प्राविधिक ज्ञानको कमी भएको, यस्तै सहकारी संस्थाहरुको समीक्षा अनुगमन कमजोर भएको, अनुगमन गर्ने स्थानीय तहमा सहकारी विज्ञ तथा जनशक्तिको कमि भएकोले समस्याहरु बढिरहेको उहाँको भनाइ छ ।

उहाँले उपमहानगरपालिकाको सहकारी शाखामा दैनिक १० जनासम्म सहकारीका सेयर सदस्यहरु सहकारीबाट बचत फिर्ता पाउनका लागि निवेदन लिएर आउने गरेको जानकारी दिनुभयो । यस्तै पछिल्लो समय सहकारीले बिना धितो जमानीमा प्रदान गरेका ऋण फिर्ता नभएको घटना बढिरहेकोले कानुनी सीमाभित्र रहेर प्रक्रियागत रुपले मात्र ऋण परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । सहकारीको बचत तथा ऋण उपसमितिका संयोजक जनक पन्तको सभाध्यक्षतामा भएको अभिमुखीकरणमा सहकारीका अध्यक्ष ऋषिराम पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । ज्ञानदीप सहकारीले ज्ञानदीप शिक्षा (जीएस) निकेतन विद्यालय नै सञ्चालन गर्दै आएको छ ।

Exit mobile version