
हेटौँडा : ‘धान बालीमा सघनता, खाद्य सुरक्षा आत्मनिर्भरता’ भन्ने नाराका साथ २२ औं राष्ट्रिय धान दिवस मनाएको १० दिन बितेको छ । यस अवधिमा बागमती प्रदेशमा ५१.७८ प्रतिशत रोपाईँ भएको छ । गतवर्षको सोही अवधिमा बागमतीमा जम्मा १९.२४ प्रतिशतले धान रोपाईँ भएको थियो ।
गतवर्षभन्दा यसवर्ष धान रोपाईँको काम राम्रो भइरहेको बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक सुधिर श्रेष्ठका अनुसार प्रदेशका अधिकांश धान रोपाइँ हुने स्थानमा यसवर्ष समयमै पानी पर्न सुरु गरेकाले विगतभन्दा केहि राम्रो धान रोपाईँ भइरहेको छ ।
उहाँका अनुसार यसवर्ष बागमती प्रदेशको १३ जिल्लाको कूल एक लाख २० हजार ६१० हेक्टर जमिनमा धानखेती हुने अपेक्षा गरिएकोमा असार २२ गतेसम्म ६२ हजार ४६०.६८ हेक्टर क्षेत्रफलमा (५१.७८ प्रतिशत) रोपाइँ सकिएको छ । निर्देशक श्रेष्ठले बागमती प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी काठमाडौँमा ९५ प्रतिशत रोपाई सकिएको जानकारी दिनुभयो । धान रोपाइँ हुने कुल क्षेत्रफल ५ हजार ९२४ हेक्टर क्षेत्रफल रहेको काठमाडौंमा अहिलेसम्म ५ हजार ६२७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।
यस्तै सबैभन्दा कम रोपाइँ धादिङमा भएको छ । घादिङमा २० प्रतिशत मात्रै रोपाईँ भएको निर्देशक श्रेष्ठले बताउनुभयो । धादिङमा ११ हजार १५९ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिएको भएपनि यसवर्ष अहिलेसम्म जम्मा २ हजार २३१ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको हो । निर्देशनालयबाट प्राप्त विवरण अनुसार ललितपुरमा ४ हजार १६३ हेक्टरमध्ये ९० प्रतिशत (३ हजार ७४६ हेक्टर) क्षेत्रफलमा धान रोपाइँ भएको छ भने २ हजार ४२९ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको भक्तपुरमा ९० प्रतिशत (२ हजार ४२९ हेक्टर) क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
मकवानपुर जिल्लामा ७ हजार ६७ हेक्टर जमिनमध्ये २८.६४ प्रतिशत (२ हजार २४ हेक्टर) क्षेत्रफलमा, २७ हजार २०७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको चितवनमा ४९.२ प्रतिशत (१३ हजार ३८७ हेक्टर)मा, नुवाकोटमा १६ हजार ४९८ हेक्तर धान खेती हुने जमिनमध्ये ६८.३१ प्रतिशत (११ हजार २७० हेक्टर) जमिनमा धान रोपाइँ सकिएको छ । यसैगरी, सिन्धुपाल्चोकमा ८ हजार ७८२ हेक्टरमध्ये ५१ प्रतिशत (४ हजार ४८० हेक्टर) मा, दोलखामा २ हजार ८१४ हेक्टर जमिनमध्ये ७० प्रतिशत (१ हजार ९६९ हेक्टर) क्षेत्रफलमा, सिन्धुलीमा ११ हजार ४४५ हेक्टर जमिनमध्ये ४७.०२ प्रतिशत (६ हजार ३४७ हेक्टर) क्षेत्रलफलमा र रामेछापमा ७ हजार ८५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा यसवर्ष २ हजार ५१४ हेक्टर क्षेत्रफलमा (३२ प्रतिशत) धान रोपाइँ भएको छ ।
यस्तै १० हजार २१० हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुने गरेको काभ्रेमा ५८.१८ प्रतिशत (५ हजार ९३९ क्षेत्रफल)मा रोपाईँ भएको छ । निर्देशनालयका अनुसार प्रदेशमै सबैभन्दा कम क्षेत्रफलमा धान रोपाई हुने गरेको रसुवाको २ हजार ७१८ हेक्टर क्षेत्रफलमध्ये ५९४ हेक्टर क्षेत्रफल (२१.३५ प्रतिशत) धान रोपाइँ भएको छ । प्रदेशमा रहेको भौगौलिक विकटता र सिँचाइको अभाव रहेका जिल्लामा अझै पर्याप्त मात्रामा पानि नपरेकाले अपेक्षा गरेजति छिटो धानखेति हुन नसकेको निर्देशनालयले जनाएको छ ।










