हेटौँडा : चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६, कालीखोलामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । सोमबार राती ८ बजेर १५ मिनेटको समयमा मुग्लिङ नारायणगढ सडकखण्डमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००३ प ०८७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री गम्भिर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मोटरसाइकल चालक गोरखा जिल्लाको गोरखा नगरपालिका–४ बस्ने ४० वर्षीय सन्तोष खनाल र पैदल यात्री तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–३ बस्ने ६५ वर्षीय किशोर बहादुर गुरुङ घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा पैदल यात्री किशोरको राती ११ बजेर १४ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।











