पूर्णखोप सुनिश्चित घोषणापछि प्रमाणपत्र हस्तान्तरण गरिँदै ।

हेटौँडा: मकवानपुर जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणा गरिएको छ । सोमबार एक समारोहका बीच जिल्ला खोप समन्वय समिति मकवानपुरका संयोजक ललितबहादुर घलानको सभाध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो भने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवाली, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक, जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी लगायत स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थित रहेको थियो ।

प्रमुख अतिथि एकालाल श्रेष्ठले अहिले जनतामा स्वास्थ्यको चेतनाको स्तर उठेको र अन्य प्रदेशभन्दा बागमती प्रदेश अगाडि रहेको बताउनुभयो । उहाँले बागमती प्रदेशमा खोप नलिने दुईवटा समूहहरू रहेकोमा उनीहरूले पनि स्वास्थ्य चेतना उठेकाले खोप लिइसकेको बताउनुभयो । दिगोपनामा लाग्न सबै निकायको सहकार्य अपरिहार्य रहेकोमा उहाँले जोड दिनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले प्रदेशमै खोप विकास गर्न, अनुसन्धानमा लाग्न र खोपको भण्डारण गरी अभाव हुन नदिन सरकारका निकायहरू समन्वय गरेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । आवश्यक परेको खण्डमा के कस्तो सहयोग गर्न सकिन्छ सहयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता उहाँले गर्नुभयो ।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुनका लागि गरिएका कामको विवरण प्रस्तुत गर्नुभयो । १५ महिनासम्मका बालबालिकाहरू मकवानपुर जिल्लामा ६ हजार २ सय ६४ रहेकोमा दुई जनाले खोप डोज नलगाएको र खोप र खोज अभियानमा खोपमा समावेश गरेको बताउनुभयो । त्यस्तै १६ महिनादेखि २३ महिना उमेरसम्मका बालबालिकाहरू ४ हजार ८ सय ७१ रहेकोमा एक जनाले कुनै किसिमको खोप नलगाएको भेटिएकोमा खोप र खोज अभियानले खोप अभियानमा समेटेको बताउनुभयो । त्यस्तै आंशिक खोप छुट भएका १ सय ७ जना बालबालिकाहरूले पूर्णखोप लगाउने अभियानमा रहेको उहाँले बताउनुभएको छ । यी सबै क्रियाकलाप गरिसकेपछि प्रदेश खोप समन्वय समितिबाट प्रमाणीकरण भएकाले जिल्ला भएको उहाँले बताउनुभयो ।