नेपालमा असार–साउनलाई वर्षा समय मानिन्छ । मनसुन सक्रिय भएर प्रायः बढी पानी यही समयमा पर्दछ । नेपालमा सामान्यतयाः जुन १० बाट मनसुन सुरु हुने गर्दछ । बंगालको खाडी मनसुनी वायु नेपालतिर आउने गर्दछ । नेपालको पूर्वी भागबाट प्रवेश गर्ने मनसुन करिब एक सय १० दिनसम्म रहन्छ । मनसुनमा मुलुकका सबैजसो भागमा धेरै वर्षा हुन्छ । नेपालमा मनसुनलाई वरदान र अभिषाप दुबै रुपमा लिने गरिएको छ । खेतीयोग्य जमिनको आधा भागमा पनि बाह्रै महिना सिंचाई सुविधा नपुगेको अवस्थामा किसानका लागि खेतीबाली लगाउन मनसुन वरदान बन्ने गरेको छ । वर्षा धेरै हुँदा त्यसबाट बाढी, पहिरो, डुबान र कटानको समस्या निम्तन्छ । यसले हरेक वर्ष जनधनको क्षति गराएर पीडा दिने भएकाले मनसुन अभिषाप पनि बन्ने गरेको छ ।
जलवायु परिवर्तनका कारण तापमान वृद्धि भएका कारण मनसुनमा पनि प्रभाव पर्न थालेको छ । यस वर्ष मनसुनको सुरुवातमै पूर्वी नेपालका केही जिल्लामा बाढीले केही क्षति पुर्याएको थियो । करिब एक साताअघि सुदूरपश्चिम क्षेत्रमा डुबानको समस्या देखिएको छ । यसवर्ष सरदरभन्दा बढी वर्षा हुने मौसमविद्हरुले चेतावनी दिएका छन् । जल तथा मौसम विज्ञान विभागले दिनहुँ देशभरको मौसम पूर्वानुमान गरेर सचेत गराउँदै आएको छ । भौगोलिक वनावट र मानवीय गतिविधिका कारण मनसुनी वर्षाले नेपालको सबै क्षेत्रमा कुनै न कुनै प्रभाव पार्ने गरेको छ । भौगर्भिक अध्ययनबिना जथाभावी सडक निर्माणका लागि जमिन खन्ने गरेका कारण बाढी, पहिरोको जोखिम बढाएको छ । पहाडी क्षेत्रमा पहिरो, खोला नदी आसपासमा बाढी र कटान अनि तराईमा डुबान हुँदा मनसुनले धेरैतिर विपद् सिर्जना गर्ने गरेको छ ।
विपद्जन्य घटना र त्यसबाट हुने क्षति न्यूनीकरण आवश्यक छ । यसका लागि तीनै तहको सरकारले पर्याप्त पूर्वतयारी गर्नुपर्छ । सम्भावित विपद्बाट जोगिन र जोगाउन सरकारको भूमिका महत्वपूर्ण हुन्छ । विपद्पछिको उद्दार तथा राहतका लागि उचित संयन्त्र चाहिन्छ । यसैलाई मध्यनजर गरेर जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला सुरक्षा समितिको समन्वयमा मनसुनजन्य विपद् प्रतिकार्यको कृत्रिम अभ्यास गरिएको छ । भीमफेदी गाउँपालिका–४, रानीखोलामा पहिरोले निम्त्याउने विपद्पछिको उद्दारको अभ्यास गरिएको हो । स्थानीय बासिन्दा र विद्यार्थीसमेतको सहभागितामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्तरुपमा कृत्रिम अभ्यास प्रस्तुत गरेको थियो । पहिरोको विपद्का बेलामा खोज, उद्दार तथा तत्कालीन प्रतिकार्यमा सुरक्षा निकाय, जनप्रतिनिधि र समुदायको भूमिका स्पष्ट हुनेगरी पूर्वाभ्यास गरिएको छ । यस्ता अभ्यासले समुदायस्तरमा सचेतना बढाउन र विपद् व्यवस्थापनसँग सम्बन्धित संयन्त्रलाई तयारी अवस्थामा रहन सहयोग पुग्दछ ।
वर्षाको समयमा बाढी आउने, पहिरो जाने, कटान तथा डुबानमा पर्ने, घरबारी बगाउने, सडक अवरुद्ध हुने, भौतिक संरचनामा क्षति पुग्नेजस्ता समस्या आउनु स्वभाविक हो । वर्षाको समयमा विपद्का घटना दिनदिनै हुन्छन् भनेर बेवास्ता गर्नु उचित हुँदैन । विपद्बाट हुने क्षतिबाट बच्न आवश्यक सतर्कतासहित विपद् व्यवस्थापनका सबै पक्षमा ध्यान दिनुपर्छ । बाढी–पहिरो तथा डुबान–कटानजस्ता मनसुनी विपद् सामनाको तयारी आवश्यक हुन्छ । जोखिम क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सार्न सरकारले ठोस कार्ययोजना बनाउनुपर्छ । तत्कालका लागि बढी जोखिमयुक्त स्थानका मानिसलाई सतर्क गराउने र विपद्अघि नै सुरक्षित स्थानमा सार्नुपर्छ । विपद् प्रभावितलाई तत्काल उद्दार तथा राहतका लागि सबै प्रकारका तयारी हुनुपर्छ ।











