हेटौँडा : बागमती प्रदेशसभाको बैठक पुनः अवरुद्ध भएको छ । बिहीबार सत्तारुढ दल र प्रतिपक्षी दलबीच बजेटको विषयमा भएको सहमति कार्यान्वयनमा समस्या देखिएपछि शुक्रबारको प्रदेशसभा बैठक अगाडि बढ्न नसकेको हो ।

प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक टेबुल गर्ने कार्यसूची तय भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले बिहीबारको सहमति कार्यान्वयन नभएको बताएपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो । माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकार सहमतिबाट पछि हटेको आरोप लगाउँदै सहमति कार्यान्वयन नभएसम्म प्रदेशसभा बैठक सञ्चालन नहुने स्पष्ट पार्नुभयो । उहाँका अनुसार माओवादी केन्द्रले बिहीबारको सहमति अनुसार छुटेका योजनाहरु समेटेर मन्त्रिपरिषद्बाट निर्णय गरी प्रदेशसभामा ल्याउन माग गरेको छ ।

प्रमुख सचेतक ढकालका अनुसार सरकारले बिहीबारको सहमति सरकारबाट उल्लघंन गरेपछि बैठक अवरुद्ध भएको हो । सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नसक्ने उहाँको चेतावनी रहेको छ । प्रदेशसभा रोकेर केहीबेर दलहरु बीच भएको बैठकमा समेत सहमति नजुटेपछि माओवादी केन्द्रले प्रदेशसभाको काम अघि बढ्न नसक्ने अडान लिएको उहाँले बताउनुभयो । माओवादी केन्द्रले बिहीबारको सहमति अनुसार छुटेका योजनाहरु समेट्ने गरी मन्त्रिपरिषद् बैठकको निर्णय गरेर प्रदेशसभामा ल्याउनुपर्ने माग गरेको उहाँको भनाई छ ।

शुक्रबारको बैठकमा विनियोजन विधेयक टेबुल गर्न ३० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । सो बीचमा केही समय दलहरुबीच छलफल भएपनि सहमति जुट्न नसकेको उहाँले बताउनुभयो । बैठकपछि बसेको दलहरुबीचको छलफल निष्कर्षविहीन बनेपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो । बैठक संचालन हुन नसकेपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर शनिबार १ बजेसम्मका लागि प्रदेशसभा बैठक सारेको छ ।

यसअघि पनि बजेट माथिको छलफलका क्रममा पटक–पटक प्रदेशसभा अवरुद्ध हुँदै आएको छ । प्रतिपक्षीले योजनाको समावेशीकरण र बजेटको न्यायोचित बाँडफाँटको माग गर्दै आएको छ । गत असार १२ गतेदेखि बजेट माथिको विवादका कारण प्रदेशसभा अवरोधको शिकार आएको छ । सत्तारुढ र प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा असार १६ गतेका लागि बोलाइएको बैठक समेत स्थगित भएको थियो । असार १९ गते दलहरु बीच ८ बुँदे सहमति बनेसँगै संचालनमा आएको प्रदेशसभा बैठक सहमति कार्यान्वयनको विषयलाई लिएर अवरुद्ध भएको हो ।