हेटौँडा : सुरक्षित आप्रवासन परियोजना (सामी) ले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धमा पत्रकारसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । हेटौँडा–४ स्थित नेपाल पत्रकार महासङ्घ मकवानपुरको सभाहलमा भएको हो । ‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने सामीको मुल उद्देश्यसहितको नारा रहेको थियो ।
जिल्ला कार्यक्रम संयोजक हेटौँडा उपमहानगरपालिकाकी अन्जिता थापा मगर र वित्त व्यवस्थापन तथा सामाजिक विकास महाशाखाका प्रमुख भिम प्रसाद तिमल्सिनाले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । कार्यक्रम संयोजक थापाले सामीको विषयमा जानकारी दिनुहुँदै भन्नुयो, ‘सामी नेपालमा २०१३ बाट शुरु भई मकवानपुरमा २०७६ बाट सञ्चालन भएको हो । अहिले चौथो चरणको सामी कार्यक्रम चलिरहेको छ र यसले नेपाली आप्रवासी कामदारका परिवारलाई राज्यबाट संरक्षण गरेर सुरक्षित, मर्यादित बनाउन सम्बन्धित निकायसँग सहकार्य गर्दै आएको बताउनुभयो ।
गत वर्ष हेटौँडा उपमहानगरपालिकासहित थाहा नगरपालिका, मनहरी गाँउपालिका र बकैया गाँउपालिका कार्यक्षेत्र रहेको र चालु आर्थिक वर्ष २०८२/०८३ मा इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिमा कार्यक्रम समेटिने भएको छ । बागमती गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा कार्यक्रम समेट्न बाँकी रहेको छ ।
चालु आर्थिक वर्षमा सूचना प्रवाहको पहुँचमा ७२६६ जना रहेकोमा ८७ प्रतिशतको उद्देश्य वैदेशिक रोजगारीमा रहेको र महिलाको सङ्ख्या बढ्दो देखिएको छ । फोन फलोअप ४४५ जनासँग गर्दा विदेश जाने २९ जना रहेका छन् । भने ४७६ जनाले सूचना प्रप्त गरेका छन् । त्यस्तै ३१३ वटा केस प्राप्त भएकोमा करिब ४७ प्रतिशत केस समाधान भइसकेको छ । मकवानपुरका चार स्थानीय तहमा ८७ वटा केस प्राप्त भएकोमा १३ जना पुरुष र ७४ जना महिला रहेको छ । भने ३९ वटा केस समाधान भएको उहाँले बताउँनु भयो ।
त्यस्तै कार्यक्रममा सहजीकरण गर्दै तिमल्सिनाले नेपालमा वैदेशिक रोजगारीको वर्तमान अवस्था अवसर र चुनौतीसँगै स्थानीय तहमा भइरहेको रोजगारीको विषयमा जानकारी गराउनु भएको छ । हालसम्म ७१ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गइसकेका छन् । आर्थिक वर्ष २०८०/८१ मा मात्रै ७ लाख ४१ हजारभन्दा बढी श्रमिकले श्रम स्वीकृति प्राप्त गरेका थिए । मुख्य गन्तव्य मुलुकहरूमध्ये युएई, साउदी अरेबिया, कतार, मलेसिया, जापान, कोरिया, बहराइन आदि रहेका उहाँले बताउनुभएको छ ।
देशमा बेरोजगारी, गरिबी र सीमित अवसरका कारण प्रति वर्ष ५ लाखभन्दा बढी श्रमशक्ति रोजगारीको खोजीमा बाहिरिने गरेको बताइएको छ । वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले देशको कुल गार्हस्थ उत्पादनमा २२.६८ प्रतिशत योगदान पुर्याएको छ । त्यस्तै वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको मृत्यु, ठगी, असुरक्षा, मानसिक तनाव, पारिवारिक विखण्डनजस्ता समस्या देखिएको उहाँले बताउनु भयो ।











