हेटौँडा : हेटौँडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयले यस वर्षबाट कक्षा–११ मा विज्ञान संकायमा भर्ना भएका सबै विद्यार्थीलाई निशुल्क अध्यापन गराउने भएको छ । हेटौँडा १६ वडा कार्यालयले जनप्रिय माविमा विज्ञान संकाय अध्ययन गर्ने सबैलाई निशुल्क पठनपाठनको व्यवस्था गर्न लागेको हो ।
आफ्नो वडामा रहेको नमूना विद्यालय जनप्रिय माविलाई दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाउने उद्देश्यले यस्तो अभियान सुरु गरिएको वडा अध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिनुभयो । देशमा विज्ञान तथा गणित विषयका जनशक्ति अपुग भएको र शिक्षामा दक्ष जनशक्ति भित्र्याउन यो अभियान उदाहरणीय हुने उहाँले दावी गर्नुभयो । विज्ञान संकाय सामान्य परिवारका व्यक्तिलाई महङ्गो पर्ने र इच्छा भएर पनि अन्य साधारण धारका विषयतर्फ अध्ययन गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि यस्तो अभियान संचालन गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईँले निशुल्क विज्ञान संकाय अध्ययन गर्न जनप्रिय मावि आउन सरोकारवालालई आग्रह गर्नुभएको छ । प्राविधिक धारका बालिविज्ञान, पशुविज्ञान तथा इलेक्ट्रिकल इन्जिनियरिङ्ग विषयमा अध्यापन गराउँदै आएको जनप्रियले विज्ञान संकाय सञ्चालन गर्न आवश्यक जनशक्ति रहेको प्रधानाध्यापक चौलागाईँको दावी छ ।
जनप्रिय माविले शिक्षा, मानविकी, व्यवस्थापन, बालिविज्ञान ९–१२ तथा प्राविधिक धारका बालीविज्ञान, पशुविज्ञान, इलेक्ट्रिकल इन्जिनियरिङ्ग लगायतका विभिन्न सङ्कायमा अध्यापन गराउँदै आएको छ । रोजगारी र स्वरोजगारका क्षेत्रमा समेत उल्लेख्य ख्याति कमाउँदै आएको जनप्रिय माविले यो वर्षबाट भने वडा कार्यालयको व्यवस्थापनमा विज्ञान संकाय निशुल्क सञ्चालन गर्न लागेको हो ।











