जिल्ला प्रशासन कार्यालय मकवानपुरमा टाँसिएको सूचना ।

हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरमा फोटो, भिडियो लिनु अघि अनुमति लिनुपर्ने भएको छ । प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष र जिल्ला प्रशासन कार्यालय परिसरमा फोटो, भिडियो खिच्नुअघि अनुमति लिनुपर्ने सूचना टाँस गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर छिर्ने गेट र प्रजिअको कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही छ ।’ लेखिएको छ । बुधबार पत्रकार महासंघ मकवानपुरका प्रतिनिधिहरुसँगको छलफलका क्रममा प्रशासनको बाध्यताका कारण फोटो, भिडियो खिच्न रोक लगाइएको मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले बताउनुभयो । आम नागरिकदेखि पत्रकारलेसमेत अनुमति बिना फोटो, भिडियो खिच्न नपाउने प्रजिअ श्रेष्ठको भनाइ छ ।

पत्रकारलाई फोटो र भिडियो खिच्न रोक लगाइएको विषयमा ध्यानाकर्षण गर्न गएको पत्रकार महासंघ मकवानपुरको टोलीलाई प्रजिअ श्रेष्ठले अनुमति बिना प्रशासनको कुनै पनि गतिविधि खिच्न रोक लगाइएको प्रष्ट पार्नुभयो । प्रशासन कार्यालय सरकारको सुरक्षा दिने अड्डा भएकाले सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरेर फोटो, भिडियो खिच्न रोक लगाइएको उहाँको भनाई छ । ‘यहाँ धेरै किसिमका मानिसहरु आउँछन्, जे जस्तो पनि बोलिरहेका हुन्छन् । सबै विषयको भिडियो बनाउँदा उनीहरुलाई नै अप्ठेरो हुनसक्छ । त्यसैले मैले नोटिस नै टाँसेर यो विषयमा अनुमति लिनुपर्ने भनेको छु ।’ प्रजिअ श्रेष्ठले भन्नुभयो, ‘यो कार्यालय संसद जस्तो पनि होइन, त्यहाँ त जिम्मेवार सांसदहरु हुन्छन् । संसदमा बोलेका विषयमा कुनै अदालतमा कुरा उठाउन पाइँदैन । प्रशासन कार्यालयमा जो जस्तो पनि मानिसहरु आएर जे जस्तो पनि बोलिरहेका हुन्छन् । सबै कुरा खिचेर सार्वजनिक गर्दा भोलि बोल्ने मानिसलाई नै अप्ठेरो हुन्छ । त्यसैले भिडियो खिच्न अनुमति लिनुपर्ने बनाएको हुँ ।’

फोटो, भिडियो खिच्न अनुमति लिनुपर्ने कार्यालयको गेटमै सूचना टाँसिएको विषयमा ध्यानाकर्षण गराउँदा प्रजिअ श्रेष्ठले त्यसलाई हटाउने प्रतिवद्धता जनाउनुभयो । ‘कार्यकक्षमा चाहिँ अलाउ गर्दैनौँ, बाहिर मिटिङ हलमा अलाउ गरौँला, बाहिर कतै कहिँ त्यस्तो टाँसिएको भए म निकालौँला ।’ उहाँले भन्नुभयो ।