हेटौँडा : २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतीजा हासिल गरेको मकवानपुरगढी गाउँपालिका–५, धादिङस्थित शारदा माविले खुशीयाली मनाएको छ । मंगलबार विद्यालयले बाजागाजासहित स्थानीय सिमलटारदेखि भालुखोलासम्म र्याली गरेर खुशीयाली मनाएको हो । कार्यक्रममा विद्यालयबाट ३.६ जीपीए ल्याउन सफल राजन नगरकोटीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाले ११ हजार रुपैयाँसहित सम्मान गर्नुभएको विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । अध्यक्ष सापकोटाले ३.२ भन्दा बढी जीपीए ल्याउने ७ जना विद्यार्थीलाई पनि जनही ३ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।
कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरणबहादुर जोशीले २५ जना विद्यार्थीलाई जनही २ हजार ५ सय रुपैयाँ दिने घोषणा गर्नुभएको छ । उहाँले विद्यार्थीको उच्च शिक्षा अध्ययनमा हौसलास्वरुप नगद पुरस्कार प्रदान गर्न लागेको बताउनु भयो । विद्यालयले विषयगत ८ जना शिक्षकलाई जनही नगद ५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरेको छ । एसईई उत्तीर्ण सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको प्रधानध्यापक कार्कीले बताउनुभयो । विद्यालयबाट एसईईमा ३.६ जीपीए ल्याउने १ जना, ३.२ देखि ३.६ सम्म जीपीए ल्याउने ७ जना, २.८ देखि ३.२ सम्म जीपीए ल्याउने १३ जना र २.४ देखि २.८ सम्म जीपीए ल्याउने ४ जना गरी २५ जना विद्यार्थी उत्तीर्ण भएका थिए ।
विद्यालयले ४ महिनाभन्दा बढी विद्यार्थीलाई बन्द प्रशिक्षणमा राखेर पठनपाठन गराएको प्रधानाध्यापक कार्कीले जानकारी दिनुभयो । २०८० सालको एसईईको तुलनामा यस वर्ष नतिजा उल्लेख्य सुधार भएको उहाँले बताउनुभयो । विद्यालयमा यस वर्ष कक्षा १० अध्ययन गरिरहेका २८ जना विद्यार्थी रहेका छन् । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ५ सय १६ जना विद्यार्थी अध्ययनरत छन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्य रहेको थियो । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका सञ्चालक जोशीको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष दिपेश दहाल, गाउँपालिकाका निर्वतमान अध्यक्ष विदुर हुमागाई, शिक्षाप्रेमी, विभिन्न राजनीतिक दलका प्रदाधिकारी, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।











