कृषिप्रधान भन्ने गरिएको नेपालको महत्वपूर्ण खाद्यान्न बाली धान हो । देशको पूर्वदेखि पश्चिमसम्मै तराई र पहाडी क्षेत्रमा धान खेती गरिन्छ । गह्रा बनाएर पानी जमाउन सकिने खेतीयोग्य जमिनमा प्रायः धान खेती गरिन्छ । सबै खेतीयोग्य जमिनमा सिंचाई सुविधा नभएकाले धान बालीका लागि मनसुनमा भर पर्नुपर्ने अवस्था छ । मनसुनी वर्षा हुने र धान खेतीका लागि उपयुक्त भएकाले असारलाई माना रोपेर मुरी उब्जाउने समय भनिन्छ । असार महिनामा देशभर धान बाली लगाउने भएकाले सरकारले करिब २ दशकदेखि असार १५ गतेलाई राष्ट्रिय धान दिवस मनाउने घोषणा गरेको हो । यस वर्ष असार १५ गते आइतबार २२ औँं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । परम्परादेखि नै असार १५ गते दही चिउरा खाने पर्वको रुपमा मनाइने गरेकोमा पछिल्लो समय धान दिवस र रोपाईं महोत्सवसमेत थप भएको छ ।
हरेक पर्व, उत्सव, दिवस मनाउनुको आ–आफ्नो विशेषता तथा महत्व हुन्छ । धान दिवस तथा रोपाइँ महोत्सव पनि नेपालका लागि महत्वपूर्ण रहेको छ । प्रमुख खाद्यान्न बाली नेपालीको खाद्य सुरक्षाको प्रमुख आधार हो । नेपालमा धानको आर्थिक, सामाजिक, सांस्कृति तथा धार्मिक महत्वका कारण यो एउटा बालीमात्र नभएर धेरै नेपालीको जीवन पद्दति बनेको छ । धानको महत्व मध्यनजर गरेर यसको उत्पादन वृद्धि एवम् आधुनिकीकरण र व्यावसायीकरणमा सहयोग गर्न विसं २०६१ सालदेखि असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यस वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको छ । नेपालमा चैते र वर्षे गरेर दुई सिजमा धान खेती हुने गरेको छ । यहाँ एक सय ४० भन्दा बढी जातका धान खेती गर्न सकिन्छ । देशभर १४ लाख हेक्टरभन्दा बढी जमिनमा खेती गरेर वार्षिक करिब ६० लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।
पछिल्ला वर्षहरुमा खेतीयोग्य जमिन घट्दै गएको छ । कृषि कार्यका लागि जनशक्ति अभाव हुँदै गइरहेको छ । समयमै उन्नत बिउ र गुणस्तरीय रासायनिक मल प्राप्त गर्न कठिन बन्ने गएको छ । बढ्दो जनसंख्यालाई पुग्ने कृषि उत्पादन आफ्नै देशमा हुन सकेको छैन । नेपालमा उत्पादन भएको धानले ६ महिनाको आवश्यकता धान्न पनि मुस्किल हुने गरेको छ । वर्षेनि अरबौं रुपियाँको धान (चामल) तथा अन्य कृषि उत्पादन आयात गर्नुपर्छ । सबै प्रकारका कृषि उत्पादन हुनसक्ने हावापानी रहेको मुलुकमा कृषि उत्पादन घट्दै गएको छ । विश्वव्यापी समस्या बनिरहेको जलवायु परिवर्तका कारण पनि कृषि उत्पादनमा नकारात्मक असर परिरहेको छ ।
अहिलेको अवस्थामा नेपाललाई सबै कृषि उपजमा आत्मनिर्भर बनाउन सकिँदैन । देशको हावापानी अनुकूल रहेको र आर्थिक एवम् आवश्यकताका आधारमा महत्वपूर्ण कृषि उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ सम्बद्ध पक्ष गम्भीर बन्नुपर्छ । धानमात्र खाद्यान्न बाली हो भन्ने मानसिकता छाडेर अन्य खाद्यान्न उत्पादन र उपभोगमा जोड दिनुपर्छ । सयौं प्रकारका कृषि वस्तु आयात गरेर धानको उत्पादन बढाउनमात्र केन्द्रित हुनु उपयुक्त हुँदैन । दुई दशकदेखि धान दिवस मनाउँदै आए पनि धानको उत्पादन वृद्धि हुन नसकेको अवस्थामा धान दिवस मनाएर औपचारिकता पूरा गर्नुको औचित्य देखिँदैन । एउटा बालीलाई बढी जोड दिएर तडकभडक गर्नुभन्दा सबै बाली प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रमका लागि सरकारले ध्यान दिनु उचित हुनेछ ।











