सांकेतिक तस्वीर ।

हेटौँडा : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१४, रानीबासमा मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टँदा एकजनाको मृत्यु भएको छ । आइतबार राती ११ बजेर ५० मिनेटको समयमा मदनभण्डारी राजमार्गमा भिमानबाट रानीबासतर्फ जाँदै गरेको ज ४ प ३४९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडी सवार कमलामाई नगरपालिका–१४, चन्दनपुरका ३५ वर्षीय राजेन्द्र कुँवर दनुवार र १४ वर्षीय करण कुमार घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि जनसेवा अस्पताल बर्दिबास लगिएको थियो । उपचारका लागि अस्पताल ल्याउने क्रममा राजेन्द्र कुँवरको बाटोमानै मृत्यु भएको अस्पतालका डाक्टरले घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक तल्लो रानिबासका २१ वर्षीय मनिष धामीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा चालक मनिषले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।