हेटौँडा : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरको भीमफेदी गाउँपालिकाका २३.४ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नै नतीजा सार्वजनिक गरे पनि भीमफेदी गाउँपालिकाले भने पालिकाका विद्यालयको विवरण आइतबार मात्रै सार्वजनिक गरेको हो ।
भीमफेदी गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार एसईईमा सहभागी १ सय ९६ जना विद्यार्थी मध्ये ४६ जना मात्रै उत्तीर्ण भएका छन् । पालिकाका ८ वटा विद्यालयमध्ये राष्ट्रिय मावि सानुटारबाट २९ जना विद्यार्थी मध्ये ७ जना (२४ प्रतिशत), कृष्ण माविबाट ४५ जना विद्यार्थी मध्ये ७ जना (१५ प्रतिशत), बाराही माविबाट ३४ मध्ये ५ जना (१५ प्रतिशत), महालक्ष्मी माविबाट १३ जना विद्यार्थी मध्ये ४ जना (३१ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै महेन्द्र माविबाट ३८ जना मध्ये ९ जना, श्री मावि कोगटेबाट १२ जना मध्ये ५ जना (४२ प्रतिशत), पञ्चकन्या माविबाट ३ जना मध्ये १ जना (३३.३३ प्रतिशत) र लेकाली बसिफाँट माविबाट २३ जना मध्ये ८ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।











