हेटौँडा: मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका ३८ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । शुक्रबार सार्वजनिक भएको नतीजाअनुसार पालिकाका ६ वटा विद्यालयबाट परीक्षामा सहभागी भएका १ सय ५ जना विद्यार्थी मध्ये ३८ विद्यार्थी उत्तीर्ण भएका हुन् । गत वर्ष इन्द्रसरोवर गाउँपालिकाबाट ८४ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा १४ जना उत्तीर्ण भएका थिए ।
इन्द्रसरोवर गाउँपालिकामा यस वर्ष एसईईमा सहभागी सरस्वती बालबोधिनी माविका १२ मध्ये १०, पन्चकन्या माविका १८ मध्ये ३, वत्सलादेवी माविका १९ मध्ये ५, कालिका माविका ११ मध्ये ६, महाचुनी माविका २३ मध्ये ११ र कालीदेवी माविका २२ मध्ये ३ जना उत्तीर्ण भएका छन् ।
गत वर्षको एसईईमा कालीदेवी माविको नतीजा निल थियो । गत वर्षभन्दा नतीजा सुधार हुनुका साथै कुनै पनि विद्यालय निल नभएको शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो । पालिकाले आगामी वर्षहरुमा नतिजा सुधारका लागि शिक्षकहरुलाई विभिन्न किसिमका तालिम, प्रविधियुक्त शिक्षा प्रणाली, शैक्षिक सामग्री वितरण लगायतका कार्य गर्दै आएको पन्तले बताउनुभयो ।











