हेटौँडा : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा मकवानपुरको राक्सिराङ गाउँपालिकाका ६ वटा विद्यालयबाट १२ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । ६.४५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा राक्सिराङका ६ मध्ये ३ वटा विद्यालयको नतीजा निल आएको छ ।

राक्सिराङ–४ स्थित कालिका मावि, राक्सिराङ–५ स्थित प्रजा जागृति मावि र राक्सिराङ–८ स्थित मावि देवीटारको नतीजा शून्य आएको हो । कालिका माविबाट १ जना, प्रजा जागृतिबाट २९ जना र मावि देवीटारबाट १७ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । अन्य तीन विद्यालयको नतीजा पनि सन्तोषजनक छैन । राक्सिराङ–३ स्थित सूर्योदय माविबाट ४० जना विद्यार्थी सहभागी हुँदा ५ जना (८ प्रतिशत), राक्सिराङ–६ स्थित राष्ट्रिय माविबाट ७१ जना विद्यार्थी सहभागी भएकोमा ३ जना (४.२२ प्रतिशत) र राक्सिराङ–९ स्थित कालिका माविका २८ जना विद्यार्थी मध्ये ४ जना (१४.२८ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् ।

राक्सिराङ गाउँपालिकामा गत वर्ष २३ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका थिए । जिल्लाको दुर्गम पालिकामा विषयगत शिक्षक नहुनुले नतीजा राम्रो नआएको राक्सिराङ गाउँपालिकाका शिक्षा शाखाका प्रमुख पंकस थारुले जानकारी दिनुभयो । पालिकाको नतीजा कमजोर भएको उल्लेख गर्नुहुँदै शिक्षा शाखाका प्रमुख थारुले सुधारका लागि पालिकाले प्रयास गर्ने बताउनुभएको छ ।