माइक्रोस्कोपको सहयोगमा अध्ययन गर्दै विद्यार्थी ।

हेटौँडा : हेटौँडा–४ स्थित नवोदय शिशु सदनले ‘पाई डे’ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भएको कार्यक्रममा कक्षा २ देखि ९ सम्मका विद्यार्थीहरूले गणितसँग सम्बन्धित विभिन्न गतिविधिहरू प्रस्तुत गरेका छन् ।

विद्यालयले प्रत्येक वर्ष असार १४ गते मनाउँदै कार्यक्रम यस वर्ष १४ गते शनिबार परेकाले शुक्रबार संचालन गरेको कार्यक्रम संयोजक तथा गणित सुपरिवेक्षक हर्क कार्कीले जानकारी दिनुभयो । कार्यक्रम संयोजक तथा गणित सुपरिवेक्षक कार्कीका अनुसार ‘पाई डेङ्घ’को उद्देश्य विद्यार्थीहरूलाई किताबमा सीमित घोकन्ते शिक्षाबाट बाहिर ल्याई व्यवहारिक सीप सिकाउने, उनीहरूको प्रस्तुतीकरण सीप अभिवृद्धि गराउने र सिकाइलाई सहज बनाउनु बनाउनु रहेको छ ।

कार्यक्रममा कक्षा ६ मा अध्ययनरत १०४ विद्यार्थीले ९ वटा स्टल स्थापना गरेका थिए । जहाँ विभिन्न किसिमको खानाका परिकारहरू बिक्री गरेका थिए । विद्यार्थीहरूले स्वेच्छाले समूहगत रूपमा पैसा उठाई नाफा–घाटा आफैं व्यवस्थापन गरेर स्टल तयार गरेका थिए । कक्षा ७ का १०५ विद्यार्थी १० वटा समूहमा विभाजित भएर वृत्ताकार वस्तुहरूको व्यास र परिधि मापन गरी पाईको मान निकाल्ने अभ्यास गरेका थिए । कक्षा ८ का ९१ विद्यार्थीहरूबीच मूर्त, अर्धमूर्त र अमूर्त प्रश्नमा आधारित हाजिरीजवाफ प्रतियोगिता भएको थियो ।

कक्षा ९ का ११० विद्यार्थीहरूले कोठाको लम्बाइ, चौडाइ र उचाइ नापी त्यसअनुसार मोडल निर्माण, प्लास्टर, रङरोगन र कार्पेट बिछाउने कार्यमा लाग्ने खर्चको गणना गरेका थिए । वर्गफुट र वर्गमिटरको आधारमा खर्च तुलना गरी कुन विधि सस्तो पर्छ भन्ने निष्कर्ष निकालिएको थियो । त्यस्तै, प्राथमिक तहका विद्यार्थीहरूलाई लक्षित गर्दै पाईसँग सम्बन्धित विविध गतिविधिहरू समेत सञ्चालन गरिएको थियो ।