प्रथम हुन सफल शुभम् खनाललाई पुरस्कृत गरिँदै ।

हेटौँडा : सामाजिक शिक्षा समाज (सोष्टा) मकवानपुरको आयोजनामा स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । हेटौँडा–७ स्थित तासिर इङ्लिस बोर्डिङ स्कूलमा कार्यक्रम भएको हो । विद्यार्थीहरूको साहित्यिक र सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा मकवानपुरका २५ विद्यालयका ४३ जना विद्यार्थीले सहभागिता रहेको थियो ।

प्रतियोगितामा बालज्योति माध्यमिक विद्यालयका शुभम खनालले प्रथम स्थान हासिल गरेका छन् । यसैगरी, हेटौंडा एकेडेमीका रोज कार्की द्वितीय, जनप्रिय माविकी एरिमा चौलागाईं तृतीय र ब्रह्मदिक एकेडेमीकी प्रियान्सु पोखरेलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । विजयी विद्यार्थीहरूलाई ३ हजार, २ हजार,१ हजार र ५ सय रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि ७ नम्बर वडाका पूर्व वडाध्यक्ष तथा तासिर इङ्लिस बोर्डिङ स्कूलका संस्थापक निर्देशक राजन थापा हुनुहुन्थ्यो । सोस्ता मकवानपुरका भोगेन्द्र लुइटेलले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने बालकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा हरि प्रसाद पौड्याल, वैकुण्ठ नेपाल र ज्योति न्यौपाने लगायतका साहित्यकारहरू रहेका थिए । आयोजक सोष्टा मकवानपुरले प्रतियोगिताले विद्यार्थीहरूमा निहित साहित्यिक प्रतिभा प्रस्फुटन गर्न र उनीहरूको सिर्जनात्मक सोचलाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान पुर्याउनएको बताएको छ । आयोजकले सम्पूर्ण सहभागी तथा विजयी विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ ।