Home मुख्य समाचार प्याव्सनको आयोजनामा वक्तृत्वकला, जेमिशा, सुलोचन र आराध्या उत्कृष्ट

प्याव्सनको आयोजनामा वक्तृत्वकला, जेमिशा, सुलोचन र आराध्या उत्कृष्ट

उत्कृष्ट ३ र प्रोत्साहन पुरस्कार वितरणपछि खिचिएको तस्वीर ।

हेटौँडा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) हेटौँडा उपमहानगर समितिको आयोजनामा शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हेटौँडा–८ स्थित शुभम् पार्टी प्यालेसमा भएको ‘मेरो विद्यालय मेरो विश्वास’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको हो ।

प्राथमिक तह (कक्षा–४ र ५) प्रतियोगितामा हेटौँडा–१८ स्थित मकवानपुर बालविद्या सदनकी जेमिशा श्रेष्ठ, हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी आराध्या राय र हेटौँडा–११ स्थित हेटौँडा एकेडेमीकी सुलोचन पराजुली उत्कृष्ट तीन घोषित भएका छन् । उनीहरुले जनही २ हजार ५ सय रुपैयाँ नगदसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै हेटौँडा–१७ स्थित हटिया एकेडेमीकी आरिजा राई र हेटौँडा–८ स्थित कमाने एकेडेमीकी सृष्टि रेग्मीलाई प्रोत्साहन पुरस्कार जनही १ हजार ५ सय रुपैयाँ, पदक र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्याव्सन हेटौँडा उपमहानगर समितिका उपाध्यक्ष श्यामकुमार बानियाँको सभाध्यक्षता तथा वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन समारोह भएको थियो । प्रतियोगितामा ३० वटा विद्यालयका ५४ जना विद्यार्थी सहभागी भएका थिए । प्याव्सन हेटौँडा उपमहानगर समितिले यसअघि जेठ ९ गते आधारभूत तह कक्षा ६, ७ र ८ को अंग्रेजी हिज्जे तथा विश्व वातावरण दिवसको अवसरमा जेठ २२ गते चित्रकला प्रतियोगिताको आयोजना गरेको थियो । यसपछि भाद्र महिनामा निबन्ध लेखन कार्यक्रम हुने सचिव सुदीप राज गिरीले जानकारी दिनु भएको छ ।

Exit mobile version