हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन आज सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरेर बोर्डले गत आर्थिक वर्षको आयव्यय एवम् प्रगति विवरण प्रस्तुत गर्नुका साथै चालु आर्थिक वर्षको अनुमानित आयव्यय र योजनाका बारेमा जानकारी गराएको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले गत आर्थिक वर्षको १३ करोड ७४ लाख २२ हजार रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।

गत आर्थिक वर्ष नौं सय १५ वटा नयाँ धारा जडान गरेर कुल सेवाग्राहीको संख्या १८ हजार ५५ पुगेको निमित्त कार्यकारी निर्देशक ढकालले जानकारी दिनुभयो । बोर्डले चालु आर्थिक वर्षका लागि १५ करोड ८० लाख रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले चालु आर्थिक वर्षमा नगरका ४ वटा खानेपानी समूहलाई बोर्ड मातहत ल्याउने योजना रहेको जानकारी दिनुभएको छ । उहाँले उपभोक्तासँग लिइने जरिवानाको दरलाई न्यूनीकरण गर्नेतर्फ पनि बोर्डले आवश्यक निर्णय गर्ने बताउनुभएको छ ।