जन्मदिनको अवसरमा छात्रवृत्ति कोषमा रकम हस्तान्तरण गर्नुहुँदै शिक्षक श्रृजना खतिवडा ।

हेटौँडा : हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयकी शिक्षक श्रृजना खतिवडाले जन्मदिनको अवसरमा विद्यालयको विपन्न तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोषमा सहयोग गर्नुभएको छ । शुक्रबार जन्मदिनको अवसरमा खतिवडाले अक्षयकोषमा १० हजार १ सय ५ रुपैयाँ सहयोग गर्नुभएको हो ।

खतिवडाले सहयोग रकम प्रधानाध्यापक मालती उप्रेतीलाई हस्तान्तरण गर्नुभयो । विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीका अनुसार अक्षयकोषमा ५ लाख रुपैयाँ पुग्न लागेको छ । विद्यालयको अग्रसरतामा ५ लाख रुपैयाँको अक्षयकोष निर्माण हुँदा वडा कार्यालयले ५ लाख रुपैयाँ थपेर १० लाख रुपैयाँको अक्षयकोष बनाइने प्रधानाध्यापक उप्रेतीले बताउनुभयो । २०८० साल फागुन ११ गतेका दिन छोराको जन्मदिनको अवसर पारेर प्रधानाध्यापक उप्रेतीले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेर अक्षयकोषको घोषणा गर्नुभएको थियो ।

यसअघि विद्यालयका पूर्वप्रधानाध्यापक रामकुमार बर्तौलाले बुबा गणेशदत्त बर्तौलाको स्मृतिमा १ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गर्नुभएको थियो । यस्तै पूर्वप्रधानाध्यापक भक्तिदेवी सुवेदीले १ लाख रुपैयाँ, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जानकी गिरीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकले विभिन्न अवसरमा अक्षयकोषमा सहयोग गर्ने गरेको प्रधानाध्यापक उप्रेतीले बताउनुभएको छ ।

विद्यालयले विपन्न तथा जेहेन्दार छात्रवृत्ति वितरण कार्यविधि बनाएर चालु शैक्षिक सत्रबाटै अक्षयकोषको आम्दानीबाट छात्रवृत्ति वितरण गरिने प्रधानाध्यापक उप्रेतीले जानकारी दिनुभएको छ ।