हेटौँडा : थाहा नगर व्याड्मिन्टन संघको आयोजनामा मकवानपुरको थाहा नगरपालिकामा जारी छैठौं संस्करणको उपमेयर कप नगरस्तरीय व्याड्मिन्टन प्रतियोगिताको उपाधिका लागि नरेन्द्र मोक्तान र देव अर्यालको जोडी र मधुसुदन चौधरी र रोशन गोपालीको जोडीबीच भिडन्त हुने भएको छ ।
आइतबार बिहान थाहा नगरपालिका–४, क्याम्पाडाँडास्थित कभर्ड हलमा आइतबार बिहान सम्पन्न सेमीफाइनल खेलमा नरेन्द्र र देवको जोडीले इशक केसी र नरेन्द्र लामाको जोडीलाई २१–१५ र २१–१२ को सोझो सेटमा सहजै पराजित गर्यो । यता मधुसुदन र रोशनको जोडीले पनि सुनिल विष्ट र नवीन रायमाझीको जोडीलाई २१–१८ र २१–१४ ले सोझो सेटमा पराजित गरेको छ ।
शनिबारबाट सुरु भएको प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टिमले १२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने सेमीफाइनलमा पराजित हुने दुईवटा टिमले ६ हजार ५ सय नगद प्राप्त गर्नेछ ।











