हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले सरकारी सम्पत्तिको दुरुपयोग गर्दै आउनुभएको छ । नगरप्रमुख लामाले स्थानीय सरकार (हेटौँडा उपमहानगरपालिका) को नाममा रहेको सरकारी गाडी निजी नम्बर प्लेट प्रयोग गरेर दुरुपयोग गर्दै आइरहनुभएको छ ।
हेटौँडा उपमहानगरपालिकाको नाममा रहेको बा १९ च ३७९६ नम्बरको डस्टर कार नगरप्रमुख लामाले निजी कारको रुपमा दुरुपयोग गर्दै आउनुभएको हो । सरकारी कार्यालयको नाममा खरिद भएपछि सरकारी नम्बर नराखी साविककै निजी नम्बरमा हेटौँडा उपमहानगरपालिकाको कार्यालयले दुरुपयोग गर्दै आउनुभएको हो ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अधिकारीले हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले चढ्ने बा १९ च ३७९६ नम्बरको कार हेटौँडा उपमहानगरपालिकाको नाममा रहेको यकिन गरेका छन् । बिक्रेताले बिक्री गर्नुअघि निजी नम्बर प्लेट रहने उल्लेख गर्दै ती अधिकारीले भने, ‘बिक्रेताले बिक्री गर्ने क्रममा निजी नम्बर प्लेट नै हुन्छ । सरकारी कार्यालयले खरिद गरेपछि सरकारी नम्बर राख्नका लागि यातायात व्यवस्था कार्यालयमा आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ ।’
हेटौँडा उपमहानगरपालिकाका कर्मचारीका अनुसार नगरप्रमुख लामाले निजी नम्बर प्लेट भएको कारलाई निजी काममा दुरपयोग गर्ने गरेको बताएका छन् । उपमहानगर स्रोतका अनुसार जिल्ला बाहिर टाढा जानुपर्दा, जिल्ला भित्रै पनि व्यक्तिगत वा गोप्य कामका लागि निजी नम्बर प्लेटको कार दुरुपयोग गर्नुहुन्छ । उक्त कार कार्यालयको प्रयोजनमा खासै प्रयोग नहुने स्रोतको दावी छ ।
नगरप्रमुख लामाले नियमित प्रयोग गर्ने स्कार्पियो भने बा प्र ०३–००१ झ ०१६२ नम्बरको छ । यो स्कार्पियोमा पनि हालसालै सेतो नम्बर प्लेट राखिएको हो । २०८१ साल कात्तिक १३ गते धनतेरसका दिन खरिद गरिएको स्कार्पियो पनि लामो समय निजी नम्बर प्लेटमै दुरुपयोग गरिएको थियो । साविक बा प्र ०१–०३१ च २०८८ नम्बरको निजी प्लेट राखेर दुरुपयोग गरिएको स्कार्पियो चढिरहनुभएकी नगरप्रमुख लामाले तीन साताअघि मात्रै सरकारी नम्बर राखिएको हो ।
‘स्कार्पियो खरिद गरेकै बेलामा उपमहानगरपालिकाले सरकारी नम्बर पनि लिएको देखिन्छ । तर, तीन साताअघि मात्रै स्कार्पियोमा निजी नम्बर प्लेट हटाएर सरकारी नम्बर राखिएको हो’, यातायात व्यवस्था कार्यालय हेटौँडाका एक अधिकृतले भने । सरकारी साधन निजी नम्बर प्लेटमा दुरुपयोग भइरहेको सम्बन्धमा नगरप्रमुखको धारणा बुझ्न खोज्दा उहाँको मोवाइल उठेन ।
नगरप्रमुख लामाले सरकारी सवारीको दुरुपयोग गरिएको विषयमा बुझ्दा हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले आफू सरकारी सवारी साधन सेतो प्लेट गर्ने अभियानमै रहेको बताउनुभयो । उहाँले नगरप्रमुखको गाडी मात्रै नभई धेरै मोटरसाइकल पनि रातो प्लेटमै सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।











