हेटौँडा : बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४, बघवनका ५० वर्षीय नन्दु कुर्मी राउतको कुटपिटबाट हत्या भएको छ । गत जेठ २९ गते बेलुका ६ जनाको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । राउतको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोही दिन साँझ ७ बजेर २० मिनेटको समयमा मृत्यु भएको थियो ।
बारा प्रहरीले सोही दिन प्रारम्भिक अनुसन्धान पश्चात कुर्मीको हत्याको घट्नामा संलग्न रहेको अभियोगमा प्रहरीले बघवनकै २८ वर्षीय दिगम्बर साह कलवारलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको थियो । घटनामा संलग्न भई फरार रहेका व्यक्तिमध्ये ३ जनालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले बुधबार पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिका–५ स्थित सागर लामिछानेको घरमा लुकिछिपी बसेकी ३८ वर्षीया रञ्जु जैसवाल र पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१, शान्तिटोलका बसिर मियाँको घरमा छुकिछिपी बसेका २० वर्षीय सुमित जैसवाल र १८ वर्षीय सुजित कुमार जैसवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार पक्राउ परेका सुमित र सुजित रञ्जुकै छोराहरु हुन् । रञ्जुका श्रीमान् ४० वर्षीय उमेश जैसवाल भने फरार छन् ।











