हेटौँडा : बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको ४ वर्षे कार्यकाल सकिएको छ । जेठ मसान्तमा कार्यकाल सकिएसँगै चौलागाईले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालमा भए गरेका कामको विषयमा जानकारी गराउनुभएको छ ।
परिषद्ले युवा पुस्तालाई प्रदेश सरकार र सरोकारवालासँग जोड्न सफल भएको उल्लेख गर्नुहुँदै चौलागाईले आगामी आर्थिक वर्षको बजेट वक्तत्वमा प्रदेश युवा परिषद्लाई खेलकुद विकास परिषद्मा गाभ्ने निर्णय सच्याउन आग्रह गर्नुभएको छ । प्रदेश युवा परिषद्लाई अझ सशक्त बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता विपरित खेलकुद परिषद्मा गाभ्ने निर्णय कानूनीरुपमा पनि जटिल भएको उहाँको भनाइ थियो । सीमित युवाको सहभागिता रहने खेलकुद र आम युवाको सक्षमता, क्षमता विकास र रोजगारी सिर्जनाको क्षेत्रमा काम गर्ने युवा परिषद्बीच सरकारले बजेट विनियोजनमा पनि विभेद र असन्तुलित व्यवहार गर्दै आएको भन्नुहुँदै चौलागाईले आफ्नो कार्यकालमा साथ, सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।
प्रदेश युवा परिषद्मा रहेर ४ वर्षे कार्यकाल पूरा गर्दै गर्दा १० हजार भन्दा बढी युवालाई रोजगारमूलक तालिम प्रदान गरिएको, सयौं युवा स्वरोजगार भएको उहाँले उल्लेख गर्नुभयो । एक पटक भर्चुअल र ३ पटक भौतिक उपस्थितिमै प्रदेशका १३ वटै जिल्लाका युवाको सहभागितामा युवा सम्मेलनको आयोजना गर्नु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धी भएको उहाँको भनाइ थियो । सरकार परिवर्तनको बेला एकपटक प्रदेश सरकारसँग केही असमझदारी भए पनि अदालतले पुनस्र्थापित गरेसँगै आफूलाई काम गर्न कुनै समस्या नभएको चौलागाईले स्पष्ट पार्नुभयो ।
सरकारलाई युवासँग जोड्न र सरकारसम्म युवाको पहूँच स्थापित गर्न परिषद्ले सहजकर्ताको भूमिका निर्वाह गरेको, मुख्यमन्त्रीसँग युवाको संवाद गराएको बताउनुहुँदै चौलागाईले भन्नुभयो, ‘मेरो कार्यकाल सकिए पनि मैले हासिल गरेको ज्ञान, सीपलाई आगामी दिनमा आवश्यकताअनुसार सहयोग गर्नेछु । युवालाई देशमै बस्नुपर्छ । यही काम गर्नुपर्छ भन्ने भावना अभिवृद्धि गराउन परिषद्ले निर्वाह गरेको भूमिकालाई निरन्तरता दिनुपर्छ ।’











