एफसी कमलडाँडाको टिम ।

हेटौँडा : हेटौँडाको एफसी कमलडाँडा दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बारा जिल्लाको कलैयामा जारी दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा एफसी कमलडाँडाले आयोजक कलैया फुटबल क्लब रातोसँग आज मगलबार उपाधिका लागि खेल्ने खेलाडी कृष्ण गुरुङले जानकारी दिनुभयो ।

शनिबार भएको सेमीफाइनल खेलमा सिमराको विकासशील भेट्रान्स क्लवलाई ३–० गोलअन्तरले पराजित गर्दै एफसी कमलडाँडा फाइनल प्रवेश गरेको हो । यस्तै आइतबार आयोजक कलैया फुटबल क्लब रातोले बीरगन्जको आरम्भ भेट्रान्स क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५१ हजार र उपविजेता हुनेले २५ हजार ५ रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । गत मंगलबारदेखि सुरु भएको दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।