हेटौँडा : मकवानपुर महिला उद्यमी व्यवसायी संघको आयोजनामा शुक्रबार र शनिबार दुई दिन आयोजना गरिएको महिला उद्यमी रोजगार मेला सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहयोगमा मेला आयोजना गरिएको हो ।
शुक्रबार बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले मेलाको उद्घाटन गर्नुभएको थियो । मेलाको समापन समारोहमा भने हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्य भनिए पनि उपप्रमुख बानियाँ उपस्थित हुनुभएन । २ दिनको मेलामा प्रदेशका १३ वटै जिल्लाका महिला उद्यमीको सहभागिता रहेको थियो । हेटौँडा–२ स्थित होटल एभोकाडोमा भएको मेलामा उद्यम, व्यवसायसम्बन्ध कार्यशाला समेत भएको थियो ।
कार्यशालामा अधिवक्ता एवम् लेखा परीक्षक कृष्णप्रसाद भण्डारीले लेखासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने श्रम, रोजगार तथा यातायात मन्त्रालयकी महाशाखा प्रमुख सुनिता गजुरेलले सरकारी निकायबाट भउ गरेका कामको विषयमा प्रस्तुती राख्नुभएको थियो । यस्तै महिला उद्यमी शर्मिला डंगोलले सहकारीको वित्तीय सेवा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आन्तरिक राजश्व कार्यालय हेटौँडाका कर अधिकृत प्रेमप्रसाद तिमल्सिनाले आन्तरिक राजश्व र कर सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नबिल बैंकका वरिष्ठ अधिकृत चन्द्रबहादुर श्रेष्ठ र ऋण अधिकृत प्रशान्त गौतमले बैंकिङ सेवा, सुविधासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष सुशीला पाण्डेले मेलाको आयोजना गरेर उद्यम, व्यवसायमा सक्रिय महिला उद्यमी, व्यवसायीलाई आआफ्नो उद्यम र व्यवसायलार्य अझ विस्तार गर्न प्रोत्साहित गर्न खोजिएको बताउनुभयो । मेलामा सहभागी महिला उद्यमीले आफ्ना वस्तुको प्रदर्शनी तथा विक्री समेत गरेका थिए । समापन समारोहमा हेटौँडा–१० का वडाध्यक्ष फूर्वा दोर्जे लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको पनि आतिथ्य रहेको थियो ।











