हेटौँडा : हेटौँडा उपमहानगरपालिकाका सेवानिवृत्त कर्मचारी समाजको पहिलो भेला सम्पन्न भएको छ । शनिबार हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा भेलाको उद्घाटन कार्यक्रम भएको थियो ।
भेलाले जेठ ५ गते निर्माण गरेको ११ सदस्यीय समितिलाई पूर्णता दिएको छ । साथै विधानलाई अन्तिम रुप दिने र दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय भएको समाजका सचिव ध्रुबबहादुर भुजेलले जानकारी दिनुभयो । सेवानिवृत्त कर्मचारी समाजले सेवानिवृत कर्मचारीको ज्ञान, सीप प्रयोग गर्न, राजस्व अभिवृद्धि, वातावरण सुधार र सुधारात्मक क्रियाकलाप गर्दै अगाडि बढाउने योजना बनाएको छ ।
समाजका अध्यक्ष भोजमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, पूर्वकर्मचारी शंकरप्रसाद उपाध्याय, वीरकृष्ण महर्जन, नेपाल नगरपालिका कर्मचारी संघका अध्यक्ष अमोद मैनालीको आतिथ्य रहेको थियो ।











