मेलाको उद्घाटन गर्नुहुँदै मन्त्री प्रेमभक्त महर्जन ।

हेटौँडा : मकवानपुर महिला उद्यमी, व्यवसायी संघको आयोजनामा हेटौँडामा महिला उद्यमी रोजगार मेला सुरु भएको छ । शुक्रबार हेटौँडाको एभोकाडो होटेलमा सुरु भएको मेला आज शनिबारसम्म सञ्चालन हुनेछ । शुक्रबार संघकी अध्यक्ष सुशील पाण्डेको अध्यक्षता तथा बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा मेलाको उद्घाटन समारोह भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री महर्जनले प्रदेश सरकार समृद्धिको अभियानमा रहेको बताउनुभयो । मन्त्री महर्जनले रोजगारी श्रृजना गर्ने खालका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । मन्त्री महर्जनले भौतिक पूर्वाधार विकासमा बढी जोड दिने गरेको उल्लेख गर्नुहुँदै पर्याप्त रोजगारी श्रृजना गरेर बागमती प्रदेशलाई समृद्ध बनाउने योजना रहेको सुनाउनुभयो । उद्यमशील महिला र युवालाई सहुलियत दरमा ऋण उपलव्ध गराउने विषयमा छलफल गरिरहेको र २ हजारलाई रोजगारी दिलाउने योजना बनाएको उहाँले बताउनुभयो ।

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालय, हेटौँडा उपमहानगरपालिकाको सहयोगमा मकवानपुर महिला उद्यमी, व्यवसायी संघले मेलाको आयोजना गरेको हो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, उद्योग परिसंघ बागमती प्रदेश समितिका अध्यक्ष लोखराज पोख्रेलको पनि आतिथ्य रहेको थियो । महिला उद्यमीलाई प्रोत्साहन गर्न मेलाको आयोजना गरिएको अध्यक्ष सुशीला पाण्डेले बताउनुभयो ।