Home मुख्य समाचार प्रदेश सभा सदस्य श्रेष्ठद्वारा मुख्यमन्त्री लामालाई योजनाको सूचि हस्तान्तरण

प्रदेश सभा सदस्य श्रेष्ठद्वारा मुख्यमन्त्री लामालाई योजनाको सूचि हस्तान्तरण

मुख्यमन्त्री बहादुर सिंह लामालाई योजनाको सूचि हस्तान्तरण गर्नुहुँदै प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ ।

हेटौँडा : प्रदेश राजधानी हेटौंडा तथा मकवानपुर जिल्लाको दीर्घकालीन विकासलाई लक्षित गर्दै बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले मुख्यमन्त्री बहादुर सिंह लामालाई योजनाको सूचि बुझाउनुभएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गर्न आग्रहसहित प्रदेश सभा सदस्य श्रेष्ठले बुधबार योजनाको सूचि मुख्यमन्त्रीलाई बुझाउनुभएको हो ।

प्रदेश सभा सदस्य श्रेष्ठले प्रस्तावित गौरवका योजनाहरू बुझाउँदै उक्त परियोजनाहरू हेटौँडा राजधानीको रूपमा विकसित गर्न, भौतिक पूर्वाधार विकास, सामाजिक सेवा प्रवद्र्धन तथा दिगो शहरी विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । प्रदेश सभा सदस्य श्रेष्ठले प्रदेशको प्रशासनिक भवन निर्माण, हेटौँडा–काठमाडौं सुरक्षित मार्ग (भीमफेदी–कुलेखानी), हेटौंडा बाइपास सडक (चुरियामाई–चोकिटोल), कर्रा नदी कोरिडोर, एकीकृत शहरी विकास योजना (टाउन प्लानिङ), प्रदेश सभा गृह निर्माण, हेटौंडा चक्रपथ निर्माण, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश विश्वविद्यालय लगायतका योजनालाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा आवश्यक रकम सहितको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।

श्रेष्ठले योजनाको सूचि पेश गर्नुहुँदै प्रदेश राजधानी हेटौँडाको भौतिक संरचना कमजोर रहेको, प्रशासनिक सेवा सुविधाको अभाव रहेको, शहरीकरण अव्यवस्थित भएको, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गम्भीर लगानीको खाँचो रहेको उल्लेख गर्नुभएको छ । प्रदेश सभा सदस्य श्रेष्ठले प्रस्तुत गर्नुभएको योजनाको सूचि ग्रहण गर्नुहुँदै मुख्यमन्त्री लामाले प्रदेश सरकार विकासका आधारहरूमा स्पष्ट र कार्यान्वयनमुखी ढंगले अघि बढ्ने बताउनुभयो । मुख्यमन्त्री लामाले योजना कार्यान्वयनका लागि प्रदेश योजना आयोग, सम्बन्धित मन्त्रालय र प्राविधिक निकायहरूसँग समन्वय गरेर ती योजना थप परिमार्जन, विस्तृत परियोजना प्रतिवेदन तयारी र बजेट व्यवस्थापन गर्न निर्देशन दिने बताउनुभएको एकालाल श्रेष्ठको सचिवालयले जनाएको छ ।

Exit mobile version