उपाधि विजेता समूह

हेटौँडा: शहीद रुद्र पाख्रिन र वासुदेव घिमिरेको स्मृतिमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आयोजित तेस्रो संस्करणको खुला ८ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि दाजुभाइ एफसीले जितेको छ ।

बुधबार मकवानपुरगढी गाउँपालिका–२, स्थित कुुर्ले दमारको खेलमैदानमा भएको फाइनल खेलमा सिमलटार युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै दाजुभाइ एफसीले उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । म्यान अफ द म्याच दाजुभाइ एफसीका सुजन बल घोषित भए । उनलाई गाउँ खेलकुद विकास समितिका सदस्य विक्रम योञ्जनले नगद ३ हजारसहित सम्मान गर्नुभएको थियो ।

बुधबार बिहान भएको खेलमा सिमलटार युवा क्लवले र खेलकुद विकास समितिलाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल गरेको थियो भने दाजुभाइ एफसीले पेनाल्टी सुटआउटमा ७ नम्बर बिहानी भेट्रान्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । निर्धारित समय १–१ गोलको बराबरीपछि पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा १२–११ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहेको थियो ।

मकवानपुरगढी खेलकुद विकास समितिको आयोजना, मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोग तथा दाजुभाइ एफसीको सह–आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ४० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै खेलको बेस्ट डिफेन्डर सिमलटार युवा क्लबका आयुष गोले प्रीतम स्याङ्बो र बेस्ट किपर आयुष गोले घोषित भएका थिए भने धेरै गोल गर्ने समीरराज थोकर र बेस्ट मिडफिल्डर दाजुभाइ एफसीका स्यामुयल सुनार घोषित भए । सबैलाई ट्रफी प्रदान गरिएको छ ।

प्रतियोगिताको समापन समारोहमा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिन, वडा अध्यक्षहरु बखानसिंह पाख्रिन, वडा सदस्य प्रतिमान रुम्बा, मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष हिराबहादुर स्याङ्तानको पनि आतिथ्य रहेको थियो ।