इन्द्रसरोवर (कुलेखानी): नेपाल विद्युत प्राधिकरणको पावर व्याकअपको रुपमा रहेको जलाशययुक्त कुलेखानी आयोजनाको इन्द्रसरोवर तालमा पानीको सतह सोमबार साँझसम्म १४ सय ८६.३९ मिटर पुगेको छ । कुलेखानी जलविद्युत् केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टले तत्काल पानि नपर्दा र नियमित जस्तो विद्युत उत्पादन गर्नुपर्दा इन्द्रसरोवरको पानीको सतह घटिरहेको हो ।
उहाँले इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट अन्तिम विन्दु १४ सय ८४ मिटरसम्म पु¥याउन सकिने जानकारी दिनुभयो । यद्यपी विजुलीको माग बढिरहे थप एक मिटर तलसम्म जान सकिने उहाँको भनाई छ । त्यसपछि भने कुलेखानीबाट नियमित बिजुली उत्पादन गर्न नसकिने प्रमुख भट्टले बताउनुभयो । उहाँका अनुसार अहिले कुलेखानी प्रथम जलविद्युत् केन्द्र, दोस्रो र तेस्रो नियमितजसो २४ सै घण्टा पूर्णक्षमतामा चलिरहेको छ । समुद्री सतहबाट १ हजार ४ सय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने प्रमुख भट्टले जानकारी दिनुभयो । ‘सोमबार साँझसम्म इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट १ हजार ४ सय ८६.३९ मिटर पुगेको छ । अझै दुई, तीन मिटरसम्म हामी बिजुली उत्पादन गर्न सक्छौ,’ उहाँले भन्नुभयो, ‘पानीको सतह १ हजार ४ सय ८३ मिटरभन्दा तल झरेको अवस्थमा भने कुलेखानीबाट अत्यावश्यक भन्दा बाहेक बिजुली उत्पादन गर्न सकिँदैन ।’
पछिल्लो समयमा गर्मी बढेसँगै विजुलीको माग बढी रहेकोले कुलेखानी विद्युत् आयोजना नियमित चलाउनु परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित विद्युत उत्पादन हुँदा र पानी नपर्दा इन्द्रसरोवरमा पानीको सतह घटेको हो । प्रमुख भट्टका अनुसार इन्द्रसरोवरमा समुद्री सतहबाट १ हजार ५ सय ३० मिटरसम्म पानी जम्मा गर्न सकिन्छ । इन्द्रसरोवरमा अघिल्लो वर्ष पनि अन्य समय भन्दा बढी पानी खपत भएको थियो । पानी पर्न सुरु भएपछि इन्द्रसरोवरमा पानीको सतह बढ्ने भएकाले पनि यो समयमा पानीको अधिकतम उपयोग गरेको आयोजना प्रमुख भट्टले बताउनुभयो । गतवर्ष असोज १० र ११ गते परेको अविरल वर्षापछि इन्द्रसरोवर ताल भरिएर ओभरफ्लो समेत भएको थियो । इन्द्रसरोवरको बाँधको सुरक्षाका लागि दुईवटा ढोका खोलेर पानी बाहिर पठाइएको थियो ।
प्रमुख भट्टले निरन्तरर पानी पर्ने र हिउँ पग्लेर खोलाहरूमा पानीको सतह बढ्ने क्रम सुरु भएपछि रन अफ रिभरमा आधारित जलविद्युत् आयोजनाहरू पूर्ण क्षमतामा चल्न थालेपछि कुलेखानी जलविद्युत् आयोजना ब्याकअपका रूपमा मात्रै सञ्चालन हुने जानकारी दिनुभयो । कुलेखानीलाई नेपालको जलविद्युतको महत्वपूर्ण व्याकअप आयोजनाका रूपमा लिइन्छ । विशेषगरी सुख्खा र गर्मीयाममा खोला, नदीको पानी कम हुँदा विद्युत् आपूर्ति र मागलाई सन्तुलन कायम गर्न र विद्युत् अधिक माग भएको समय तथा भोल्टेज कम र बढी हुँदा विद्युत् वितरण प्रणालीलाई व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजनालाई प्रयोग गरिने गरिएको छ । पूर्ण क्षमतामा सञ्चालन हुँदा कुलेखानी प्रथम जलविद्युत् आयोजनाबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट बिजुली उत्पादन हुने गरेको छ ।











