हेटौँडा : मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा दोस्रो राक्सिराङ कला–साहित्य महोत्सव–२०८२ सम्पन्न भएको छ । राक्सिराङ गाउँपालिका र कम्युनिकेशन इण्डष्ट्रीको संयुक्त आयोजनामा भएको महोत्सवमा नेपालका विभिन्न जिल्लाहरूका साथै भारतको सिक्किम राज्यबाट समेत स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
महोत्सवमा झापा, इलाम, डोल्पा, बारा, बाग्लुङ, चितवन, मकवानपुर, सिन्धुली, सल्यान, काठमाडौं, अछाम, धादिङ लगायत जिल्लाबाट आएका कविहरूले विविध रचना प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख आकर्षणहरूमा मदन पुरस्कार प्राप्त कवि तथा सञ्चारकर्मी डा. नवराज लम्साल, कवि तथा सार्वजनिक सेवा प्रशारण (पीएसबी) का सञ्चालक फुलमान बल, सिक्किमस्थित नेपाली भाषाकी अभियन्ता तथा कवि जीविका अश्रु, साहित्यकार कुमारी लामा लगायतका व्यक्तित्वहरूको उपस्थित रहेको थियो ।
महोत्सवको अवसरमा राक्सिराङमा जन्मेर नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा लामो योगदान पुर्याएका पत्रकार तथा साहित्यकार रामकुमार एलन रिजाललाई सम्मान गरिएको थियो । गाउँपालिकाले उहाँलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरेको हो । कार्यक्रममा मोहराज शर्मा, विवश बलिभद्र कोइराला, बाबुराम श्रेष्ठ, धीजन गुरागाईं, श्यामकुमार बानियाँ, प्रदीप वालाचन, डीबी बर्तौला, गोविन्द पौडेल, राजकुमार लामिछाने, मिथिला अधिकारीलगायतका स्रष्टाहरूले आ–आफ्ना सिर्जनात्मक काव्य प्रस्तुत गरेका थिए । आयोजक संस्थाका अनुसार यस किसिमका कार्यक्रमहरूले साहित्य, संस्कृति र सिर्जनात्मक अभिव्यक्तिलाई ग्रामीण तहसम्म विस्तार गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।











